रोस बार्क्ली

चेल्सीबाट बार्क्ली फुकुवा

लन्डन । चेल्सीले मिडफिल्डर रोस बार्क्लीलाई आपसी समझदारीमा क्लबबाट फुकुवा गरेको छ । इङ्ल्यान्डको राष्ट्रिय टिमबाट ३३ खेल खेलिसकेका बार्क्लीले सन् २०१९ पछि देशका लागि खेलेका छैनन् । थोमेस टुचेलेको टिममा पनि यो सिजन उनी देखिएका थिएनन् ।

२८ वर्षीय मिडफिल्डरले चेल्सीका लागि गत सिजनको अन्तिम खेल खेलेका थिए । वाटफोर्डविरुद्धको त्यो खेलको ९०औं मिनेटमा एक गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाएका थिए ।

‘हामी उनको आगामी करिअर सफलताको शुभकामना दिन्छौं,’ चेल्सीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

चेल्सीले बार्क्लीलाई करिब १५ मिलियन पाउन्डमा एभर्टनबाट अनुबन्ध गरेको थियो । त्यसयता उनले प्रिमियर लिगमा चेल्सी र लोनमा एस्टन भिल्लाबाट २३२ खेल खेलेर २९ गोल र २८ असिस्ट गरेका छन् ।

उनले १७ वर्षको उमेरमा एभर्टनबाट प्रिमियर लिगमा डेब्यू गरेका थिए । तर, चेल्सी पुगेर उनको करिअर रोकिएको छ ।