आइ लिग

आइ लिगामा अञ्जन र किरण भिड्दै

काठमाडौं । भारतमा जारी आइ लिग अन्तर्गत बुधबार मुम्बई केन्क्रे र राउन्ड ग्लास पञ्जाब प्रतिस्पर्धा गर्दैछन् ।

यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र फरवार्ड अञ्जन विष्ट एकअर्कावीरुद्ध मैदान उत्रँदै छन् ।  

अञ्जन केन्क्रे र किरण पञ्जाब आवद्ध छन् । उनीहरू आई लिगमा पहिलोपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् ।

खेल मुम्बईस्थित केन्क्रेको घरेलु मैदान कोर्पोरेसन स्टेडियममा नेपाली समय अनुसार साझ ७ः१५ बाट सुरु हुनेछ । यी दुईबीच भएको अघिल्लो भेटमा पञ्जाबले ३–० को सहज जित निकालेको थियो ।

दुवै खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई जित दिलाउन चाहन्छन् । जारी लिगमा १३ खेल खेल्दा किरणले सात ‘क्लिन सिट’ राखेका छन् । गत साता केन्क्रेमा आवद्ध भएका अञ्जनले आइतबार साबिकको विजेता गोकुलम केरलाविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

लिगमा १४ खेल खेल्दा १३ अंक जोडेको केन्क्रे ११ औं स्थान रहँदै रेलिगेसन क्षेत्रमा छ । पञ्जाब १३  खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा छ ।