कोपा अमेरिका

२०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ ।

उत्तर अमेरिकी राष्ट्र अमेरिकामा आयोजना हुने २०२४ को कोपा अमेरिकामा १६ राष्ट्रको सहभागिता रहनेछ । जसमा दक्षिण अमेरिकाका १० तथा  उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली हुनेछन् ।

२०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकामा गर्ने निर्णय गरेको  हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको सय वर्ष पूरा भएको अवसरमा २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामा आयोजना भएको थियो ।

२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।

जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्‍याइनेछ । जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टोली  कोनकाकफबाट हुनेछ । 

यो क्षेत्रबाट सहभागि हुने टोलीको टुङ्गो २०२३-२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ । त्यसैले आयोजक भएपनि अमेरिका स्वतः छनोट हुने छैन ।

दुई महादेशको फुटबल संघबीच भएको रणनीतिक साझेदारी अनुसार २०२४ को कोनकाकाफ महिला गोल्डकपमा कन्मेबोलबाट चार टोलीलाई आमन्त्रण गरिनेछ ।  यो प्रतियोगितामा कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी  महादेशबाट समन दुई टोली समावेश गरी २०२४ मा चार  टोलीको नयाँ क्लब प्रतियोगिता समेत हुने भएको छ ।