टाईगर कप

एपिएफमाथि रोमाञ्चक जित निकाल्दै गण्डकी च्याम्पियन

काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशले पोखरामा सम्पन्न तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको  च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको प्राङ्गणमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा  पहिलो सेट १६-२५ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५-१८ र २५- १९ ले आफ्नो पक्षमा पारेको थियो ।

निकै रोमाञ्चक बनेको चौथो सेट एपिएफले २८-२६ ले जितेपछि खेल पाँचौँ तथा अन्तिम सेटसम्म लम्बिएको थियो । पाँचौँ सेट गण्डकीले १५-८ ले जित्दै च्याम्पियन बन्यो ।

यसअघि गण्डकी पहिलो संस्करणमा पनि च्यम्पियन बनेको थियो । उपाधिसँगै गण्डकीले पाँच लाख प्राप्त गर्दा उपविजेता एपिएफले  दुई लाख ५० हजार पायो ।

शनिबार नै पुरूषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई २२-२५ , २५-१८, २५-२१  र  २५-२० ले हराएको थियो ।

तेस्रो भएको पुलिसले एक लाख २५ हजार तथा चौथो स्थान हासिल गरेको आर्मीले ६५ हजार प्राप्त गरे ।

प्रतियोगितामा  पुरुषतर्फ पाँच  टोलीको सहभागिता थियो ।

यसैगरी महिलातर्फ शनिबार नै सम्पन्न फाइनलमा खेलमा आर्मीलाई २५-२०, २२-२५ ,२५ -८ , २५-२२ ले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो ।

शुक्रबार महितातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले घरेलु टोली गण्डकीलाई २५-१९, २५-१६  र  २५-१६ ले पराजित गरेको थियो ।

प्रतियोगितामा महिलातर्फ चार टोलीको सहभागिता थियो ।

महिलातर्फ पनि एपिएफलले पाँच लाख, आर्मीले दुई लाख ५० हजार, न्यु डायमन्डले एक लाख २५ हजार तथा गण्डकीले ६५ हजार प्राप्त गरे ।