एफए कप

ग्वार्डिओलाबाट धेरै कुरा सिक्ने अवसर मिल्योः आर्टेटा

काठमाडौं । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पेप ग्वार्डिओलाबाट आफुले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताएका छन् ।

शुक्रबार राति आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँग खेल्दैछ । सन् २०१९ मा आर्सनलको प्रशिक्षक बन्नुअघि आर्टेटाले सन् २०१६ देखि २०१९ सम्म सिटीमा ग्वार्डिओलाको सहायकका रुपमा काम गरेका थिए ।

सिटीको घरेलु मैदान इटिहाद रंगशालामा हुने खेल अघिको पत्रकार सम्मेलनमा आर्टेटाले ग्वार्डिओला आफ्नो  प्रेरणाको स्रोत भएको बताएका हुन् ।

‘म कृतज्ञ छु, किनभने ग्वार्डिओलाले मलाई खेलाडीका रुपमा प्रेरित गर्नुका साथै प्रशिक्षकका रुपमा अवसर दिए’, आर्टेटाले भने,‘उनले मौका नदिएको भए आज यो स्थानमा हुने थिइन । ममा प्रशिक्षक बन्ने मोह र इच्छा जाग्ने थिएन।’