इङ्लिस प्रिमियर लिग

केनको कीर्तिमानमा टोटनहमको जित

लन्डन । ह्यारी केनले कीर्तिमानी गोल पूरा गरेको दिन टोटनहमले क्राभेन कटेजमा फुलहममाथि १-० को जित निकालेको छ । 

इङ्लिस प्रिमियर लिगअन्तर्गत सोमबार फुलहमविरुद्ध केनले गरेको गोल क्लबका लागि कीर्तिमानी २ सय ६६औं गोल हो । यस गोलसँगै उनले जिम्मी ग्रिभ्सको नाममा रहेको क्लबको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका छन । जिम्मी १९७० देख िनिरन्तर क्लबको सर्वाधिक गोलकर्ता रहेका थिए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गरेको गोल टोटनहमको जितमा पर्याप्त बन्यो ।

टोटनहमले प्रिमियर लिगको पछिल्लो १० खेलमा २१ गोल खाएको थियो । फुलहममाथि निकालेको जितपछि भने टोटनहम २१ खेलमा ३६ अंकसहित पाँचौ स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा मात्र तीन अंक कम हो । यद्धपी युनाइटेडले टोटनहमभन्दा एक खेल कम खेलेको छ । 

फुलहम भने २१ खेलमा ३१ अंकसहित सातौं स्थानमा छ ।