इटालियन सिरी ए

मिलानसँग जिरौउडको सम्झौता थप

मिलान । फ्रान्सका स्ट्राइकर ओलिभर जिरौउडले इटालियन सिरी ए को क्लब एसी मिलानसँगको सम्झौता नबिकरण गरेका छन । 

क्लबसँगको सम्झौता थप गरेसँगै जिरौउडले अन्तर्राष्ट्रिय खेलजीवनमा अहिले पूर्णविराम लगाउने कुनै सोच नभएको बताएका छन ।

जिरौउड र मिलानबीचको वर्तमान सम्झौता जुन २०२३ सम्म मात्र थियो । जसका कारण उनले अन्तर्राष्ट्रिय खेलजीवनलाई निरन्तरता दिन्छन वा दिँदैनन भन्ने अन्योल थियो ।

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा र कप्तान तथा गोलकिपर ह्युगो लोरिसले भने संन्यासको घोषणा गरिसकेका छन । फ्रान्स कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । जिरौउड फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन । 

‘म अहिले राष्ट्रिय टोलीको जिम्मेवारीबाट अलग हुने सोचमा छैन’, जिरौउडले भने,' म अझ केही समय फ्रान्सको प्रतिनिधित्व गर्न चाहन्छु । आशा छ नयाँ सम्झौता थप भएसँगै मेरो क्लब भविष्यका बारेमा चलेका गलत खबर बन्द हुनेछ ।'

साबिकको विजेता मिलान सिरी ए को दोस्रो स्थानमा छ । मिलानले मंगलबार लाजियोको सामना गर्दैछ ।