इङ्लिस प्रिमियर लिग

युनाइटेडमाथि आर्सनलको जित

लन्डन । इडी एनकेइटाको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको अपराजित यात्रामा पूर्णविराम लगाउँदै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम राखेको छ । 

इङ्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार युनाइटेडलाई ३-२ ले हरायो । युनाइटेड सबैखाले प्रतियोगिता गरि पछिल्लो नौ खेलमा अपराजित रहेको थियो । जसमध्ये युनाइटेडले आठ खेल जितेको थियो भने एक खेलमा अंक बाँडेको थियो । 

कतार विश्वकप २०२२ का क्रममा घाइते भएका ग्याब्रियल जिजस बाहिरिएपछि स्थान पाएका एनकेइटाले निरन्तर आफूलाई प्रमाणित समेत गरिरहेका छन ।

१७औं मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । २४औं मिनेटमा एनकेइटाको गोलमा आर्सनल खेलमा फर्किएको थियो । 

५३औं मिनेटमा बुकायो साकाले आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै मार्टिनेजले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

९०औं मिनेटमा एनकेइटाले गरेको गोल आर्सनललाई शीर्ष स्थानमा अग्रता कायम राख्न पर्याप्त बन्यो । 

आर्सनललको १९ खेलमा ५० अंक छ भने म्यानचेस्टर सिटीको २० खेलमा ४५ अंक छ । तेस्रो र चौथो स्थानको न्युक्यासल र युनाइटेडको समान २० खेलमा समान ३९ अंक रहेको छ । पाँचौ स्थानको टोटनहमको ३३ अंक छ ।