फिफा

श्रीलंका फुटबल संघलाई फिफाको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंका फुटबल संघ (एफएफएसएल) लाई प्रतिबन्ध लगाएको छ ।

फिफा महासचिव फातिमा सामोउराले आइतबार जारी गरेको वक्तव्यमा श्रीलंका फुटबलमाथि शनिबार (२१ जनवरी) देखि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको उल्लेख छ ।

२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्यूरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

निलम्बनमा परेसँगै श्रीलंका फुटबल फिफाको सदस्य भएबापत पाउने सबै अधिकारबाट वञ्चित हुनेछ । श्रीलंका फुटबलको प्रतिनिधित्व गरी राष्ट्रिय टिम वा क्लब टिमले अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाउने छैनन् भने महासंघका कुनै सदस्य वा अधिकारीले फिफा र  एसियला फुटबल महासंघ (एएफसी)ले सञ्चालन गरेका विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा सहभागी हुन पाउँदैनन् ।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका कारण एफएफएसएल)लाई प्रतिबन्ध गरिएको हो ।

तत्कालीन अध्यक्ष जसवार उमरको कार्यकाल जुन २०२१ मै सकिएको थियो । १८ महिनासम्म कार्यकाल थपेर बसेका उनी निर्वाचन गर्न असमर्थ हुँदै आएका थिए ।

फिफाले सन् २०१५ देखि नै श्रीलंका फुटबललाई आफ्नो विधान संशोधन गर्न पत्राचार गरिरहेको थियो । गत जुनमा उमर नेतृत्वको कार्यसमितिलाई तीन महिनाभित्र नयाँ निर्वाचन गर्न फिफाले अन्तिम निर्देशन दिएको थियो ।

फिफा, एएफसी र खेलकुद मन्त्रालयको प्रतिनिधिबीच छलफलमा अक्टोबर २०२२ मा नयाँ विधानअनुसार निर्वाचन गर्ने सहमतिसमेत भएको थियो । तर, श्रीलंका फुटबल संघलाई सरकारले विघटन गरेपछि फिफाले पत्र लेखेर निलम्बन वा प्रतिबन्धको चेतावनी दिएको थियो । खेलकुद मन्त्रालयले संघ विघटन गरेको तथ्यलाई फिफाले अप्रत्यक्ष रुपमा सरकारी हस्तक्षेप मानेको थियो ।

फिफाले ३ जनवरी २०२३ अगावै निर्वाचन सम्पन्न गर्न भने पनि श्रीलंका फुटबल संघले त्यो समयसीमा पालना गरेन ।

श्रीलंकामा १४ जनवरीमा फुटबल संघको निर्वाचन सम्पन्न भएको थियो। खेलकुद मन्त्रालयको प्रत्यक्ष संग्लग्नतामा भएको निर्वाचनमा पूर्व टेलिभिजन पत्रकार, सांसद तथा मन्नार फुटबल लिगका अध्यक्ष जे श्री रंगा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि फिफा परिषद श्रीलंका फुटबलमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।