युनाइटेडको जितमा रोनाल्डोको एक गोल

काठमाडौं । जिसे लिङ्गार्डले ८९औं मिनेटमा गरेको गोलसँगै म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतबार राति वेस्ट ह्यामलाई १-२ गोलको नतिजामा पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामले पहिले अग्रता लिएको थियो ।

जार्रोड बेवेनले दिएको पासमा सेड बेर्न्हमाले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै स्टार फरवार्ड क्रिसेटियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि गोल हुन नसकेको खेलको ८९औं मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई १-२ को अग्रता दिलाएका थिए ।

इन्जुरी समयको पाँचौं मिनेटमा पाएको पेनाल्टीमा वेस्ट ह्याम कप्तान मार्क नोबल गोल गर्न चुकेपछि घरेलु टोली हारबाट जोगिन सकेन ।

जितसँगै युनाइटेड ५ खेलबाट १३ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्यामको समान खेलबाट ८ अंक जोड्दै आठौं स्थानमा छ ।