टोटनहमविरुद्धको लन्डन डर्बी मा चेल्सी ३-० ले विजयी

लन्डन, (खेलाडी)- टोटनहमविरुद्धको लन्डन 'डर्बी'मा ३-० को प्रभावशाली जित हासिल गर्दै चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ ।

गोलरहित बराबरीमा पहिलो हाफ टुंगिएपछि दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीले अवे मैदानमा तीन अंक हासिल गरेको हो । 

मार्कुस अलोन्सोको कर्नरमा थियागो सिल्भाले हेडमार्फत गोल गर्दै ४९औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा एनगोलो कान्टेको प्रहार विपक्षी खेलाडीलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएपछि चेल्सीको अग्रता दोब्बर भयो । 

मार्कुस अलोन्सो, काई हार्भाट्ज, टिमो वेर्नेर र रोमेलु लुकाकु गोलका थप सुनौला अवसरमा चुकेको खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले चेल्सीका लागि तेस्रो गोल गरे । 

वैकल्पिक खेलाडी वेर्नेरको पासमा रुडिगरले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । 

जितपछि पाँच खेलमा १३ अंक जोडेको चेल्सी म्यानचेस्टर युनाइटेडलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लियो । केही बेरअघि सम्पन्न खेलमा वेस्ट ह्याममाथि २-१ को जित हासिल गर्दै युनाइटेड १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको थियो । लिभरपुलले अघिल्लो दिन क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै शीर्ष स्थानमाथिको पकड कायम राखेको थियो ।