बार्सिलोना

रियालको सामना गर्न जाभी उत्साहित

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले स्पेनिस सुपर कपको फाइनलमा रियाल मड्रिडको सामान गर्न आफु उत्सुक रहेको बताएका छन् ।

बार्सिलोनाले बिहिबार रातिको खेलमा रियाल बेटिसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आइतबार हुने फाइनमा रियालसँगको भेट पक्का गरेको थियो ।

‘यो सबैले चाहेको फाइनल हो र अब हामी उपाधिका लागि जाँदैछौँ’ जाभीले भने ‘म सधैं उत्कृष्ट टोलीविरुद्ध खेल्न र तिनीहरूलाई हराउन चाहन्छु । यो ट्रफी हो र त्यसैले महत्त्वपूर्ण छ, यसले हामीलाई बाँकी सिजनको लागि थप मनोबल र मानसिक शान्ति दिनेछ ।’

जाभीले सेमिफाइनलमा रियाल बेटिसविरुद्ध आफ्नो प्रदर्शन सोचे अनुरुपको हुन नसकेको भन्दै फाइनलमा सुधार गर्नु पर्ने बताएका छन् ।

‘जित निकाल्नु राम्रो हो तर हामीले पछिल्ला केही खेलमा निकै संघर्ष गर्नु परेको छ’, जाभीले भने‘आशा छ फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रियाललाई हराएर उपाधि जित्ने छौं ।’