कतार विश्वकप २०२२

पोग्बा र भरानलाई विश्वकप टोलीमा समावेश नगर्ने डेसच्याम्पसको संकेत


पेरिस । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले घाइते खेलाडीलाई कतार विश्वकप २०२२ को टोलीमा समावेश गर्न नसक्ने जनाएसँगै राफेल भरान र पाउल पोग्बाको विश्वकप खेल्ने सम्भावना न्युन बनेको छ ।

सन् २०१८ को रुस विश्वकप विजेता फ्रान्स उपाधि रक्षाको लक्ष्यमा रहेको छ । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदैछ । डेसच्याम्पसले टोलीमा आवश्यक पर्दा योगदान गर्न सक्ने खेलाडीलाई मात्र प्राथमिकतामा राखेको पनि बताए ।

खुट्टाको चोटका कारण भरान अहिले म्यानचेस्टर युनाएटेडको टोलीबाट बाहिर रहेका छन् । यसै सिजन युभेन्टस पुगेका पोग्बा पनि चोटकै कारण सिजनको पहिलो खेलबाटै टोलीमा छैनन् ।

‘म स्पष्ट छु,’उनले भने, ‘म कहिले पनि ठूलो प्रतियोगितामा घाइते खेलाडीलाई टोलीमा समावेश गर्दिन । टोलीका प्रमुख सदस्य नै किन नहोस्, ती खेलाडी फिट रहेन भने म उनीहरुलाई टोलीमा समावेश गर्दिन ।’