पुरुष फुटबल

आर्मीलाई सडनडेथमा ६-५ ले हराउँदै एपिएफले जित्यो पुरुष फुटबलको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।

एपिएफको जितमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टी प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् । एपिएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपिएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे ।

आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । आर्मीले रजतमै चित्त बुझायो ।

त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखेपनि गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा दिनेश हेनजनको क्रसलाई नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरियो ।

१४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गरेपनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नविन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे ।

३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गल्ति गर्दा एपिएफका प्रदिप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकीक प्रहार सोझै गोलरक्षक विकेश कुथुको हातमा पुग्यो ।

४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपिएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेपनि एपिएफका विकु तामाङले नविनलाई पास दिएपनि गोलगर्नबाट चुक्यो । नविनले  नियन्त्रणमा लिदैँ प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको संकट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे ।

६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा स्वेहाङ आङ्गदेम्बेको होभरहेड किक प्रहारमा सुदिल राईको हेडर बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो ।  ७२ औं मिनेट आवास लामिछानेको पासमा प्रदिप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ७८ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच केहि विवाद भएपछि आर्मीका परिवर्तित खेलाडी पदम तामाङ र एपिएफका प्रदिप लामाले रातो कार्ड पाएका थिए ।

त्यसपछि दुवैटिम १०-१० खेलाडीमा सिमित हुन पुगे । ८४ औं मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपिएफका गोलरक्षक राजु निकै अघि बढि किल्यर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सिमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिएपनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो ।

निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त ग¥यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए ।

आर्मीले  यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ ।