बालोन डी अर

बेन्जेमालाई बलोन डी अर अवार्ड

पेरिस । रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले सोमबार बलोन डी अर अवार्ड जितेका छन् । 

गत सिजन रियाल मड्रिडले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमाको प्रदर्शन अब्बल रहेको थियो । त्यसैले उनलाई यस पटक बलोन डी अरको प्रमुख दाबेदारको रुपमा हेरिएको थियो । 

बेन्जेमाले पहिलो पटक बलोन डी अर जित्ने क्रममा यसै सिजन लिभरपुलबाट जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखमा गएका साडियो माने, म्यानचेस्टर सिटीक केभिन डि ब्रुयना र यसै सिजन मात्र बायर्नबाट बार्सिलोना आएका रोबर्ट लेवान्डोवस्कीलाई पछि पारेका थिए  

उनले रियालका लागि गत सिजन सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । 

बेन्जेमा पछिल्लो १० सिजन लगातार बालोन डी अरको मनोनयमा परे पनि अवार्ड जितेको भने यो पहिलो पटक हो । सन् २०२१ मा उनले पहिलो पटक बलोन डी अर को शीर्ष १० मा स्थान बनाएका थिए । सो वर्ष  लियोनल मेसीले अवार्ड जित्दा उनी चौथो स्थानमा रहेका थिए । 

यता महिलातर्फ भने बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया प्युटेलासले बालोन डी अर जितिन् ।