पुरुष फुटबल

राष्ट्रिय टिमका स्टारहरु चम्किँदा बागमती र एनआरएनए विजयी

काठमाडौं । बागमती प्रदेशले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमतीले मधेष प्रदेशलाई २–० को नतिजामा निराश पार्यो ।

बागमतीको जितमा दुवै गोल दोस्रो हाफमा राष्ट्रिय टोलीका दुई स्टार सुनील बल र अञ्जन बिष्टले गरेका थिए । सुनीलले समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गर्दै दिलाएको अग्रतालाई अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै दोब्बर पारे । अञ्जनले खेलको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यसअघि पुरुष फुटबलको विवादास्पद खेलमा एनआरएनएले प्रदेश एकलाई २–० को नतिजामा हराएको थियो । एनआरएनएका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगर र संजोक राईले गोल गरेका थिए ।