च्याम्पियन्स लिग

रियालको जित लय कायमै

मड्रिड । साबिकको विजेता रियाल मड्रिडले यस सिजन पनि च्याम्पियन्स लिगमा आफ्नो स्वभाविक लय कायम राखेको छ । 

बुधबार सम्पन्न समूह एफको खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा रियलाले सख्तर डोनेस्कलाई २-१ ले निराश पार्यो ।

रियाल तीन खेलमा सतप्रतिशत नतिजा पछि नौ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सख्तर डोनेस्क भन्दा पाँच अंक बढी हो भने तेस्रो स्थानका आरबी लाइपजिग भन्दा ६ अंक बढी हो । चौथो स्थानको सेल्टिकको एक अंक रहेको छ ।

रियालले समूहको पहिलो खेलमा आरबी लाइपजिगलाई २-० र दोस्रो खेलमा सेल्टिकलाई ३-० ले हराएको थियो ।

१३औं मिनेटमा रोर्डिगोको गोलमा रियालले अग्रता लिएको थियो । २८औं मिनेटमा भिनिसियस जुनियरले रियालको अग्रता दोब्बर पारेका थिए ।  ३९औं मिनेटमा डोनेस्कका जुभकोभले टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन ।

समूह ‘एफ’ कै अर्को खेलमा समूह चरणको पहिलो जित निकाल्ने क्रममा  लाइपजिगले सेल्टिकलाई ३–१ ले हरायो ।

पहिलो दुई खेलमा भने लाइजिगले अंक खाता खोल्न सकेको थिएन । लाइपजिग पहिलो खेलमा रियालसँग र दोस्रो खेलमा डोनेस्कसँग पराजित भएको थियो ।