च्याम्पियन्स लिग

सिटीको सहज जित

कोपनहेगन । एर्लिङ हाल्यान्डले जारी सिजन आफ्नो गोल लय कायम राख्ने क्रममा थप दुई गोल गरेको दिन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा बुधबार एफसी कोपनहेगनमाथि ५–० को सहज जित निकालेको छ ।

सिटीको जितमा हाल्यान्डले दुई तथा रियाद महारेज र अल्भारेजले समान एक गोल गरे । कोपनहेगनका कोचोलाभाले एक आत्मघाती गोल गरेका थिए ।

सातौं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता लिएको थियो । ३२औं मिनेटमा हाल्यान्डले सिटीको अग्रता दोब्बर पारेका थिए । च्याम्पियन्स लिगमा उनको यो जारी सिजन पाँचौ गोल हो । उनले प्रिमियर लिगको नौ खेलमा १४ गोल गरिसकेका छन् । जारी सिजन सबै खाले प्रतियोगिता गरि हाल्यान्डको १२ खेलमा यो १९औं गोल हो । उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटी आएका थिए । 

त्यसको दुई मिनेटपछि नै कोपनहेगनका कोचोलाभाले आत्मघाती गोल गरेसँगै सिटीको अग्रता ३–० मा पुगेको थियो । ५५औं मिनेटमा महारेजले सिटीलाई फराकिलो जिततर्फ डोहोर्याएका थिए । ७६औं मिनेटमा अल्भारेजले सिटीका लागि पाँचौ गोल गरे ।

सिटी तीन खेलमा नौ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको डर्टमन्डको समान खेलमा ६ अंक छ । तेस्रो स्थानको सेभिया र चौथो स्थानको कोपनहेगनको समान एक अंक छ ।