आर्नोल्ड

जर्मनीविरुद्ध खेल्ने टिममा परेनन् आर्नोल्ड

लन्डन । लिभरपुलका राइट ब्याक ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड सोमबार राति हुने जर्मनीविरद्धको खेलका लागि इङ्ल्यान्डको टिममा परेका छैनन् । पछिल्लो ग्यारेथ साउथगेटको टिमको सुरुआती ११ मा स्थान बनाउन संघर्षरत आर्नोल्ड नेसन्स लिगमा इटालीविरुद्धको खेलमा पनि बेन्चमा थिए ।

उनको स्थानमा साउथगेटले चेल्सीका रिस जेम्सको प्रयोग गर्दै आएका छन् । यद्यपि, आज राति हुने खेलका लागि भने उनी बेन्चमा पनि नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

खेलअघि साउथगेटले राइट ब्याक पोजिसनका लागि सधैँ कठिन निर्णय गर्नुपर्ने बताएका थिए । उनले आर्नोल्डको पास गर्ने क्षमताको तारिफ गर्दै टिममा धेरैखाले क्षमता भएका खेलाडी हुन आफ्ना लागि सकारात्मक भएको प्रतिक्रिया पनि दिएका थिए ।