युइएफए नेसन्स लिग

नेदरल्यान्ड्स फाइनलमा,वेल्स लिग बी मा घटुवा

पेरिस । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १-० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार पोल्यान्डमाथिको जितपछि नै नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो । फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई आइतबार बेल्जियमविरुद्ध फराकिलो हार टार्नु थियो । 

७३औं मिनेटमा भान डाइकले गरेको गोल डेनमार्कको फाइनल यात्रा तय गर्नका लागि पर्याप्त बन्यो । 

लिग ए ग्रुप फोरमा नेदरल्यान्ड्स ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बेल्जियमको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको पोल्यान्डको सात अंक रह्यो भने चौथो स्थानको वेल्सको मात्र एक अंक रह्यो ।

दुई महिनापछि सुरु हुने कतार विश्वकपमा नेदरल्यान्ड्ले समूह ए मा आयोजक कतारसँगै इक्वेडर र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने बेल्जियमले समूह एफ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यता पोल्यान्डसँग १-० को हारपछि वेल्स भने लिग बी मा घटुवा भएको छ ।