युइएफए नेसन्स लिग

फ्रान्स डेनमार्कसँग स्तब्ध, क्रोएसिया फाइनलमा

कोपनहेगन । डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा  फ्रान्सलाई २-० ले पराजित गरे पनि शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ ।

पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । तर लिग ए ग्रुप वान को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध पहिलो हाफमा १-१ को बराबरीमा रोकिए पनि दोस्रो हाफमा थप दुई गोलसहित ३-१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो । 

क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो ।

डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो । 

युरोपियन च्याम्पियनसिप २०२० को सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कलाई कतार विश्वकप २०२२ मा डार्कहर्सको रुपमा लिइएको छ । फ्रान्स र डेनमार्क एकै समूहमा परेका छन् । समूह ‘डी ’मा मा फ्रान्स र डेनमार्कसँगै अस्ट्रेलिया र ट्युनेसिया रहेका छन् ।