इङ्ल्यान्ड

इङ्ल्यान्डका लागि आफू नै उपयुक्त भएको साउथगेटको दाबी

लन्डन । इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले आफू नै इङ्लिस टिमका लागि उपयुक्त प्रशिक्षक भएको बताएका छन् ।

शुक्रबार इटालीसँग १-० ले पराजित भएपछि इङ्ल्यान्ड लिग अफ नेसन्सको रेलिगेशन सम्भावना उच्च बनेको छ । इङ्लिस टिमले पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको छ ।

इटालीसँगको हारपछि सान सिरो भ्रमण गरेका इङ्ल्यान्डका समर्थकले प्रशिक्षक साउथगेटको मजाक उडाएका थिए । तर, साउथगेटले भने ६ वर्षको कार्यकालमा कतार विश्वकपका सबैभन्दा बलियो टिम लैजाने बताए ।

‘हामी केही शीर्ष स्तरका देशहरुसँग खेल्दै आएका छौं र यसले हामीलाई अझ बलियो बन्न सहयोग पूर्याउनेछ । यस्ता खेलहरुबाट युवा खेलाडीहरुले अनुभव बटुल्न पाउनेछन्,’ साउथगेटले भने, ‘हाम्रो आत्मविश्वास खस्किएजस्तो मलाई लाग्दैन । तर, हामी खेल जित्न चाहन्छौं । हामी केही नराम्रो अवस्थाबाट गुज्रियौं तर, यो केही समयका लागि मात्र हो ।’