सुशील केडीया स्मृति अन्तर बिद्यालय फुटसल

लिटिल एन्जल्स च्याम्पियन

काठमाडौं । छैटौं सुशील केडीया स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

जावलाखेलस्थित डिएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्यो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोश्रो पटक उपाधि जितेको हो ।

लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे । पुलिस स्कुलका राम थापाले एक गोल गरे ।

शुक्रबारनै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २-१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३-१ ले पराजित गर्दै फाइनल पुगेको थियो । तेश्रो स्थानको लागि भएको खेलमा ग्रीनफिल्डले गान्धी आदर्शलाई ३-१ ले पराजित गर्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भए भने उत्कृस्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते। प्रतियोगिताको उदयमान  खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए । गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्यो । विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोहि अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो ।

तिन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डिएभी स्कुलले जितेको थियो ।