रोहित चन्द

मैत्रीपूर्ण खेलका लागि रोहित नेपाल फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक रोहित चन्द सोमबार नेपाल फर्किएका छन् । 

इन्डोनेसियाको लिगा वान क्लब पर्सिक केडिरीबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा सहाभागी हुन नेपाल आएका हुन् ।

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम पछिल्लो एक महिनादेखि बन्द प्रशिक्षणमा छ । बंगलादेशविरुद्धको खेलका लागि नेपाली टोलीको प्रशिक्षण प्रदिप हुमागाँईले सम्हालिरहेका छन् । 

कुवेतमा  विश्वकप छनोट २०२२ खेलेयता रोहित राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन् ।

नेपाली टिमका तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोट २०२३ का लागि टोली घोषणा गर्दा रोहितसहित पहिलो रोजाइका अन्य १० खेलाडी बाहिर रहेका थिए । आफूहरुले सेवा सुबिधा पाउनु पर्ने माग राख्दै प्रशिक्षकसँग विवादमा उत्रिएको भन्दै उनीहरुलाई टोली बाहिर राखिएको थियो । 

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने उनीहरु सबैलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको छ । यता, अल्मुताइरीले पनि नेपाली टिमबाट राजीनामा दिएको घोषणा गरिसकेका छन् ।