साफ महिला च्याम्पियनसिप

‘लक्ष्यअनुसारको नतिजा ल्याउन सकेनौं, माफी चाहन्छु’– प्रशिक्षक थापा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेश ३–१ ले पराजित हुँदै उपाधिबाट वञ्चित भएपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले लक्ष्यअनुसारको नतिजा ल्याउन नसकेको भन्दै माफी मागेका छन् ।

‘हामीले जुन लक्ष्य बनाएका थियौं त्यो पूरा गर्न सकेनौं । त्यसको लागि क्षमा माग्न चाहन्छौं । जुन प्रदर्शन हाम्रो टिमले गर्यो, त्यसबाट म खुसी छु । दर्शकको साथबाट हौसिएका छौं । खेलाडीहरुले आफूले सक्दो प्रदर्शन गरे,’ प्रशिक्षक थापाले भने, ‘ हामीले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनौं । सावित्रा, रश्मीले पाएको मौकालाई कन्भर्ट गर्न सकेनन् । बंगलादेशले प्राप्त मौकालाई सदुपयोग गरे तर हामीले सकेनौं ।’

उनले आफूले सफल नहुनेले ठाउँ ओगटेर राख्न नहुने भन्दै नेपाली टिमको प्रशिषण छोडेको समेत घोषणा गरे ।

‘सक्सेस हायर एन्ड फायर । आजबाट प्रशिक्षक पद छोड्छु । सफल नहुनेले ठाउँ ओगटेर राख्नु राम्रो होइन । उपाधि दिलाउन सकिन् दुःख लागेको छ । तर, अब अरुलाई मौका दिनुपर्छ ।’

यता, नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले रंगशाला आएका सबै समर्थकलाई धन्यवाद व्यक्त गरिन् ।

‘रंगशालामा आइदिनु हुने दर्शकहरु सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । जित्ने चाहना थियो । तर, सफल हुन सकेनौं । पाँचौ पटक हार्यौ । अर्को संस्करणसम्म खेल्छु वा खेल्दिन थाहा छैन,’ एन्जिला भन्छिन्, ‘नेपाली टिमको प्रदर्शन राम्रो छ । नेपाली टिममा म्याच एक्पोजरको कमी भएको जस्तो लाग्छ । खेलहरुबाटै अनुभव बटुल्ने भए पनि हामीले त्यसको पर्याप्त मौका पाएका छैनौं ।’

नेपाललाई हराउँदै उपाधि जितेपछि बंगलादेशका मुख्य प्रशिक्षक गोलम रोबानी छोटोनले बंगलादेशका लागि उपाधि जित्ने यो टिम सन् २०१६ देखि यसका लागि अघि बढेको बताए ।

‘२०१६ बाट बंगलादेशी टिममा परिवर्तन सुरु भएको हो, जब हामी थाइल्यान्डमा यु १६ छनोटमा छनोट भएका थियौं । पछिल्लो ५–६ वर्षयता हाम्रा टिमले उमेर समूहदेखि नै धेरै प्रतियोगिताहरु खेल्दै आए । बंगलादेशको यो परिवर्तन उमेरसमूह हुँदै आएको हो,’ छोटोन भन्छन्, ‘म हाम्रा खेलाडीलाई धन्यवाद दिन चाहन्छु । म प्रतियोगिता सफल आयोजनाका लागि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु । हामीले उपाधि जित्यौं । अहिले हामी दक्षिण एसियाकै उत्कृष्ट टिममा उभियौं । हामी क्राउड र ग्राउन्डलाई डराएका थियौं । तर, हाम्रा खेलाडीलाई यसलाई एजेप्ट गरे । हामीले पहिलो गोल गर्यौं भने नेपाली टिम दबाबमा पर्छ भन्ने थियो ।’

यता, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी बंगलादेशकी कप्तान सविना खातुनले आफ्नो टिमले अझै पनि क्रमिक रुपमा सुधार गर्दै गइरहेको बताइन् ।

‘म उत्कृष्ट खेलाडी घोषित भए । टिमले उपाधि जित्यौं । हामीले हाम्रो लक्ष्य पूरा गर्यौं । ढाँकाबाट नेपाल आउँदै हामी प्रतियोगिताको उपाधि जित्न चाहन्थौं र ममा हामी यो सक्छौं भन्ने विश्वास थियो,’ कप्तान सविनाले भनिन्, ‘भारत र नेपाल सँधै दक्षिण एसियाका उत्कृष्ट टिम हो । तर, हामी अहिले फुटबलमा क्रमिक रुपमा सुधार गर्दै छौं ।’