साफ महिला च्याम्पियनसिप

दशरथ रंगशालामा अर्को इतिहास काेर्ने लक्ष्यमा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज (सोमबार) बंगलादेशविरुद्ध मैदानमा उत्रिँदा नेपाल महिला फुटबलमा नयाँ कीर्तिमान बनाउन चाहन्छ ।

प्रतियोगिता सुरुहुनु अघिदेखि नै च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक क्षण बनाउने लक्ष्य लिएको नेपालले प्रतियोगिताको १२ वर्षे लामो इतिहासमा पहिलो पटक भारतलाई नै हरायो । जसले च्याम्पियनसिपको एकमात्र विजेता भारत पहिलो पटक सेमिफाइनलबाट घर फर्कियो । यसअघिका पाँचै संस्करणको विजेता भारत नै बाहिरिएपछि छैटौं संस्करणले नयाँ विजेता पाउने पक्का भइसकेको छ । तर, नेपालले भारतलाई हराउन १२ वर्ष लगाउदा त्यसबेलासम्म बंगलादेश अर्को चुनौतीको पहाड बनिसकेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गरेको बंगलादेश प्रदर्शनका आधारमा उपाधिको प्रमुख दावेदार हो ।

तर, भारतको चुनौती पन्छाउदै फाइनल यात्रा तय गरेको नेपाल उच्च मनोवलका साथ अर्को नयाँ इतिहानस रच्ने लक्ष्यसहित बंगलादेशविरुद्ध मैदान उत्रदैछ । दशरथ रंगशालामा अपराजित रहेको नेपाल आज पनि सोही लयलाई कायम राख्ने लक्ष्यमा छ ।

भदौ २१ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट बंगलादेश र समूह ‘बी’ बाट नेपाल अपराजित यात्रा कायम गर्दै फाइनल पुगेका छन् । फाइनलसम्मको यात्रामा यी दुई टिमले सवै खेलमा क्लिन सिट राखेका छन् ।

प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका मुख्य प्रशिक्षक र कप्तानले आ-आफ्नै दाबी गरे ।

कुमार थापा (मुख्य प्रशिक्षक, नेपाल)

फाइनलमा पहिलो पटम पुगेका छौं । घरेलु मैदानमा खेल्न पाउँदा खुशी छौं । आयोजक टिम हौं । नेपाली समर्थकको साथ धेरै राम्रो छ । हामी उपाधि कतै पनि जान दिदैनौ । सेमिफाइनलको प्रदर्शनबाट खुशी छु र समर्थकको तर्फबाट पनि धेरै राम्रो साथ पाएका थियौ । बंगलादेशसँग अहिलेसम्म हारेका छैनौं । तर, हामी इतिहासमा विश्वास गर्दैनौ । नयाँ इतिहास बनाउन चाहन्छौं ।  

बंगलादेशको टिम राम्रो छ । तर, च्याम्पियनसिप सुरु भएदेखि ट्रफी यही छ । यसैकारण, हामी ट्रफी कतै जान दिने पक्षमा छैनौं । आफ्नो नाममा लेखाउन र सावित गर्न चाहन्छौ । फाइनलमा जुन टिमले कम गल्ती गर्छ, उही टिम च्याम्पियन बन्छ । हामीलाई कुनै पनि दबाब छैन, भावनात्मक रुपमा बलियो छौं ।

बंगलादेशविरुद्ध सायद सावित्रा (भण्डारी) को पुनरागमन गर्न सक्छिन् । प्रतियोगिताको लागि नौ हप्ता प्रशिक्षण गरेका थियौ । सबै नेपाली समर्थकले साथ दिएका छन् । मैले खेलाडीलाई दिने भनेको ट्याक्टिकल नलेज मात्र हो । अरु बाँकी खेलाडीमा ऊर्जा थप्ने सबै समर्थकले नै हो, पाइरहेका पनि छौं ।

टिम ब्यालेन्स गरेर खेल्नेछौ । काठमाडौं फुटबलको लागि प्रख्यात छ । समर्थकले हामीलाई ऊर्जा दिनुहुन्छ, हामी ट्रफी दिनेछौं । भारत र बंगलादेशसँग खेल्नु भनेको फरक कुरा हो ।

यस प्रतियोगितामा बंगलादेश र नेपाल नै कुनै खेल नहारी क्लिन सिट पनि छौं । फाइनलमा जसले गोल खान्छ, त्यहीं टिम हार्छ । एक गोल पनि नखाई गोल हानेर जित्ने प्रयास गर्छाै । हामी एक गल्ती पनि गर्ने छैनौं । नयाँ खेलाडीलाई जति एक्सपोज गर्यो त्यति नै आत्मविश्वास बढ्ने हो । त्यसैले भोलि पाँच जना खेलाडीलाई मैदानमा उतार्न पनि सक्छौ । हामीले टिम वर्क र एनर्जी प्रयोग गर्यौ भने जित्छौं । फाइनल खेलसँगै तीन जना खेलाडी संन्यास लिने योजनामा छन् ।

एन्जिला तोम्बोपो सुब्बा (कप्तान)

भारतलाई हराएर नयाँ इतिहास बनाउन पाउँदा खुशी लागेको छ । हाम्रो टिमले नै धेरै राम्रो प्रदर्शन गरेको थियो । भोलिका दिनमा पनि अन्तिम समयसम्म फाइट गर्छाै । धेरै बोलेरभन्दा पनि गरेर देखाउने छौं । 

शारीरिक र मानसिक रुपमा बलियो छौं । जित्नका लागि खेल्छौं । उनीहरुको पनि राम्रो टिम छ । गत वर्ष पनि जितेका थियौ, जित्ने नै छौं । कम गल्ती गर्ने र गोल खानु हुँदैन । ‘हामी सक्छौ, हामी गर्छाै’ भन्ने नारा आत्मसाथ गरेका छौं ।

गोलम रोबानी छोटोन (मुख्य प्रशिक्षक, बंगलादेश)

शारिरिक र मानसिक रुपमा फाइनलका लागि तयारी छौं । योजना पनि बनाइसकेका छौं । तुलनात्मक रुपमा नेपाल टिम शारिरीक, मानसिक र प्राविधिक रुपमा राम्रो भएको छ । आयोजक टिमसँग खेल्न सधै गाह्रो हुन्छ । बंगलादेश पनि राम्रो भइसकेको छ । फाइनलमा पनि रक्षक र गोलकिपरको उस्तै प्रदर्शन हुन जरुरी छ । 

नेपाल र भारतको सेमिफाइनलमा सात हजार दर्शक आएका थिए । दर्शकको साथ राम्रै थियो । तर, हाम्रो खेलाडी धेरै अनुभवी छन् । यु १४ तथा एसियन गेम्समा हराएका थियौं । नेपालविरुद्ध जित निकाल्न चुनौती छ ।

सावित्रा दक्षिण एसियाकै राम्रो खेलाडी हुन् । नोपाली टिम बलियो छ । तर, हामीसँग पनि सविना (खातुन) र मसुरा (प्रवीन) जस्ता खेलाडी छन् ।

सविना खातुन (कप्तान)

हाम्रो टिममा धेरै अनुभवी खेलाडीहरु छ्न । जसले एएफसी र साफ च्याम्पियनसिप खेलेका खेलाडी छन् । सबै खेलाडीले आफ्नो सतप्रतिशत दिनेछन् । नेपालमा धेरै क्राउड हुन्छ । तर, हाम्रो मुख्य ध्यान प्रतियोगितामा नै हुनेछ ।