साफ महिला च्याम्पियनसिप

‘च्याम्पियनसिप सुरु भएदेखि उपाधि यहीँ छ, यसलाई बाहिर जान दिने छैनौं’

काठमाडौं । नेपालले सोमबार साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिपको इतिहासमा पहिलो पटक भारतलाई हराएका दुवै टिम प्रतियोगिताको नयाँ विजेता बन्ने लक्ष्यमा छन् । च्याम्पियनसिपको छैटौं संस्करण आइपुग्दा यसअघिका पाँचै संस्करण भारतले मात्र जितेको छ । सन् २०१० देखि सुरु भएको प्रतियोगितामा भारत फाइनल नपुगेको यो पहिलो पटक हो । यसैकारण पनि च्याम्पियनसिपको छैटौं संस्करणले भारतबाहेक नयाँ च्याम्पियन पाउँदै छ ।

घरेलु टिम भएकाले नेपाल महिला टिम यो सुनौलो मौकालाई कुनै पनि हालतमा गुमाउन चाहदैन । नेपालले सेमिफाइनलमा भारतको चुनौती १-० ले पन्छाउँदै उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गरेको थियो ।

यता, बंगलादेशले भने सेमिफाइनलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भुटानमाथि ८-० को सहज जित निकालेको थियो । त्यसअघि भारतलाई समूह चरणको खेलमा ३-० ले पराजित गरेको बंगलादेश अहिले उत्कृष्ट लयमा छ ।

फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगिता सुरु भएदेखि ट्रफी नेपालमा रहेको र यसलाई अन्त जान दिने पक्षमा आफूहरु नभएको बताए ।

‘फाइनल पुगेका दुवै टिमका लागि यो नयाँ इतिहास हो । यस पटक साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौं,’ थापाले भने, ‘हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौं । हामी घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदा देखि नै उपाधि यहीँ छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं ।’

यस्तै, थापाले टिमले सेमिफाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको र टिमले फाइनलमा त्योभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं । सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु,’ प्रशिक्षक थापा भन्छन्, ‘र, मलाई थाहा छ उनीहरुले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् । हामी हाम्रो रणनीति, हाम्रो मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म निकै विश्वस्त र खुशी छु ।’

नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा खुसी रहेको र यही लयलाई कायम राख्ने लक्ष्य रहेको बताइन् ।

‘एकदमै खुसी लागेको छ । हामीले पहिलो पटक भारतलाई जित्यौं । हामीले नयाँ कीर्तिमान बनायौं । हामीले एक टिमको रुपमा खेलेर यो सम्भव भएको हो,’ एन्जिला भन्छिन्, ‘आउँदो खेलमा पनि हामी यही लयलाई कायम राख्न चाहन्छौं । बोलेरभन्दा पनि गरेर देखाउन बाँकी छ ।’