साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः रश्मीको गोलमा भारतविरुद्ध नेपालको अग्रता

फाइल फोटो

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपालले भारतमाथि १–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरिन् ।

खेलको सुरुआती १० मिनेटसम्म बलमा पकड बनाएको नेपालले गतिलो ‘मुभ’ भने बनाउन सकेन । पहिलो २५ मिनेटसम्म दुवै टिमले आकर्षक प्रहार गर्न सकेनन् ।

नेपालले साफको इतिहासमा हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । यस्तै, नेपाल च्याम्पियनसिपमा भारतबाहेक अन्य कुनै टिमसँग पराजित पनि भएको छैन ।

साफ च्याम्पियनसिपको छैटौं संस्करणसम्म आइपुग्दा चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपाललाई पाँचै पटक भारतले पराजित गरेको थियो ।

खेलको ३२औं मिनेटमा भारतीय गोलकिपर अदिति चौहानले गरेको गम्भिर गल्तिमा नेपालले फाइदा उठाउन सकेन । अदितिले सेन्टर डिफेन्डरसँग सही कम्युनिकेसन गर्न नसक्दा बल पोष्टतिर गएको थियो । त्यसतर्फ प्रीति राई गए पनि अदितिले नै बल मैदान बाहिर फालिन ।

३३औं मिनेटमा अनिता केसीले लेफ्ट साइडबाट दिएको पासमा प्रीति राईको प्रहार बारमाथि जालीमा अड्कियो ।