साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । शुक्रबार सम्पन्न च्याम्पियनसिको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १–० को पराजित गर्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको हो । नेपाल लगातार दोस्रो र समग्रमा पाँचौं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

यता, भारत भने पहिलो पटक च्याम्पियनसिपको इतिहासमै पहिलो फाइनलमा पुग्न असफल भयो । यससँगै च्याम्पियनसिपको छैटौं संस्करणबाट नयाँ विजेता पाउने पक्का भएको छ । च्याम्पियनसिपको ६ वटै संस्करण भारतले जितेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोल नै निर्णायक बन्यो । प्रीति राईले १८ यार्ड बक्सको दायाँ साइडबाट निकालेको क्रसमा रश्मीकुमारी घिसिङले गोल गरिन् ।

नेपालले समग्रमा दोस्रो पटक भारतलाई पराजित गरेको हो । नेपालले यसअघि सन् २०१९ मा सम्पन्न हिरो गोल्डकपमा भारतलाई उसैका घरमा पराजित गरेको थियो । नेपालले दुवै पटक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा भारतलाई हराएको हो ।

खेलको सुरुआती १० मिनेटसम्म बलमा पकड बनाएको नेपालले गतिलो ‘मुभ’ भने बनाउन सकेन । पहिलो २५ मिनेटसम्म दुवै टिमले आकर्षक प्रहार गर्न सकेनन् ।

नेपालले साफको इतिहासमा हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । यस्तै, नेपाल च्याम्पियनसिपमा भारतबाहेक अन्य कुनै टिमसँग पराजित पनि भएको छैन ।

साफ च्याम्पियनसिपको छैटौं संस्करणसम्म आइपुग्दा चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपाललाई पाँचै पटक भारतले पराजित गरेको थियो ।

खेलको ३२औं मिनेटमा भारतीय गोलकिपर अदिति चौहानले गरेको गम्भिर गल्तिमा नेपालले फाइदा उठाउन सकेन । अदितिले सेन्टर डिफेन्डरसँग सही कम्युनिकेसन गर्न नसक्दा बल पोष्टतिर गएको थियो । त्यसतर्फ प्रीति राई गए पनि अदितिले नै बल मैदान बाहिर फालिन ।

३३औं मिनेटमा अनिता केसीले लेफ्ट साइडबाट दिएको पासमा प्रीति राईको प्रहार बारमाथि जालीमा अड्कियो ।

५०औं मिनेटमा अनिता केसी प्रहार गरेको कर्नरमा अमृता जैसीको हेडर अदितिले पन्च गरी फ्याकिन् ।

६४औं मिनेटमा रश्मीले दिएको पासमा प्रीतिले दुई डिफेन्डरलाई छक्याउदै बक्सभित्रबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो । दोस्रो सेमिफाइनल खेलमा सात हजार दुई सय ५३ जना दर्शकको उपस्थिती थियो ।

नेपालले अब फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । बंगलादेशले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल असोज तीन गते दशरथ रंगशालामै हुनेछ ।