साफ महिला च्याम्पियनसिप

दशरथ रंगशालामा कीर्तिमानको दिन

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपालले पहिलो पटक भारतलाई पराजित गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतको चुनौती १–० ले पन्छाउँदै उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्यो । नेपालले इतिहास बनाउदा रश्मीले निर्णायक गोल गर्दै साफको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखिन् । जसले रंगशालामा उपस्थित सात हजार दुई सय ५३ सहित सम्पूर्ण नेपालीमा खुसी दियो ।

साफ महिला च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक र समग्रमा पाँचौ पटक फाइनलमा प्रवेश गरेको हो । छैटौं संस्करणसम्म आइपुग्दा नेपाल चौथो संस्करणको सेमिफाइनलबाट बाहिरिएको थियो । जसबेला नेपालको प्रशिक्षण कुमार थापाले नै सम्हालेका थिए । फाइनलसम्म पूर्याउन नसकेको खराव कीर्तिमानधारी प्रशिक्षक बनेका थापाले यसपाली भने साफमा भारतलाई हराउने पहिलो र अहिलेसम्मको एकमात्र प्रशिक्षक बने ।

शुक्रबार साफ महिला च्याम्पियनसिपको इतिहासमा एकै पटक तीन नयाँ इटाँ थपियो, पहिलो, नेपालले पहिलो पटक साफमा भारतविरुद्ध पहिलो जित निकाल्यो, दोस्रो पहिलो पटक भारत साफको फाइनलमा पुग्न असफल बन्यो र तेस्रो साफको पाँचौ संस्करणसम्म अपराजित रहेको भारतले छैटौं संस्करणमा लगातार दुई हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

नेपालले अब फाइनलमा असोज तीन गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । फाइनलअघि नै साफ च्याम्पियनसिपको इतिहासमा अर्को इतिहास बन्ने पक्का भइसकेको छ । पाँचौ संस्करणसम्म भारतबाहेक अर्को च्याम्पियन नपाएको प्रतियोगिताको छैटौं संस्करणले नयाँ विजेता पाउनेछ ।

अर्को रोचक कीर्तिमान नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेका हालसम्मका कुनै पनि खेलमा हार बेहोरेको छैन । नेपालले पहिलो पटक दशरथ रंगशालामा २०७८ को भदौमा बंगलादेशविरुद्ध नै खेलेको थियो । दुई मैत्रीपूर्ण खेलमा नेपालले एकमा जित निकाल्दा अर्कोमा बराबरी खेलेको थियो ।

त्यसपछि अहिले नेपाल दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण खेल्दै छ । जसका तीन खेलमा नेपालले जित निकालेको छ ।

प्रतियोगिता सुरु हुनुअघि यस पटक भारतलाई पनि हराउने र उपाधि पनि जित्ने दाबी गरेका मुख्य प्रशिक्षक कुमार थापाको पहिलो वाचाले भने पूर्णता पाएको छ । भारतलाई हराएपछि प्रशिक्षक थापाले प्रतियोगिताको उपाधि जितेर नेपाली समर्थकहरुलाई धन्यवाद दिने बताए ।

‘लामो समयदेखि हामी यो समयको प्रतिक्षामा थियौ । यो जितको लागि हाम्रो समर्थकलाई धेरै धन्यवाद भन्न चाहन्छु । भारतसँगको खेल भनेपछि नेपाली समर्थकमा एक किसिमको अर्कै भाव आउँछ । हाम्रा समर्थकले सधै साथ दिनुभएको छ । आजको खेलमा हाम्रो बोली सुनिएको थिएन । समर्थकको सुनिएको थियो । उहाँहरुलाई ट्रफी जितेर थ्याक्यु भन्छौ,’ उनले भने ।

‘भारतलाई जितेर फाइनल पुग्न पाउँदा खुशी छौं । महिला फुटबलले साफमा उपाधि राख्न सक्यो भने राम्रो हुनेछ । हामीले खेलमा धेरै गल्तीहरु गरेनौं । पाएको मौकालाई सदुपयोग गर्यौ त्यसैले गोल निस्कियो । व्यक्तिगत नभएर टिमको रुपमा खेल्यौ,’ उनले भने, ‘नाम चलेको खेलाडी टिममा नहुँदा चुनौती त थियो तर, प्रीति (राई) लगायतका खेलाडीलाई मौका दियौ । हामीलाई निराश बनाएनन् ।’

यस्तै, खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिएकी प्रीति राईले सुरुआती सेटमा आफू समावेश भएपछि केही नर्भस भए पनि मैदानमा आफ्नो सतप्रतिशत दिने सोच बनाएर खेलेको बताइन् ।

‘हामीले भारतलाई हराउन सक्यौ, धेरै खुशी छु । सुरुआती सेटमा पर्दा दबाबभन्दा पनि नर्भस भएको थिए । तर, मैदानमा आफ्नो सतप्रतिशत दिन्छु भन्ने सोचेको थिए,’ उनले भनिन्, ‘कोचले गर्नु भएको विश्वासलाई पूरा गर्न सके । राम्रो खेल खेल्न सक्छु कि सक्दिन भन्ने थियो । यो क्षण प्रतिक्षामा हामी मात्र नभएर सम्पूर्ण नेपाली नै थियो ।’

यता, हारसँगै प्रतियोगिताबाट बाहिरिएपछि भारतीय टिमका मुख्य प्रशिक्षक सुरेनकुमार क्षेत्रीले टिमले हार बेहोरेको र यसलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए ।

‘हामीले हार्यौं, यसलाई स्वीकार गर्नुपर्छ । प्राविधिक कुरा भए पनि हामीले राम्रो खेल खेल्यौं । हामीले पाएको मौकालाई सदुपयोग गर्न सकेनौं, तर, नेपालले पाएको एक मौकामै गोल गर्यो र जित निकाल्यो ।’