साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः भारत र बंगलादेश सेमिफाइनमा, माल्दिभ्स र पाकिस्तान बाहिरिए

काठमाडौं । माल्दिभ्समाथि ९-० को सहज जित निकाल्दै भारत समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतसँग पराजित भएसँगै माल्दिभ्स र पाकिस्तान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् भने बंगलादेश पनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

भारतको जितमा अन्जु तामाङले चार, ग्रेस दाङमेइले दुई गोल गर्दा सौम्या गुगुलोथ, कास्मिना र प्रियन्गा देवी नाओरेमले एक एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जारी खेलको २४औं मिनेटमा अन्जु तामाङको गोलबाट भारतले अग्रता बनाएको थियो । खेलको ४३औं मिनेटमा प्रियन्गा देवी नाओरेमले भारतको अग्रता दोब्बर पारिन् । कप्तान आशालता देवीको लामो पासलाई नाओरेमले पेनाल्टी क्षेत्रबाट पोष्टको दिशा दिइन् । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अन्जुले भारतका लागि तेस्रो गोल गरिन् ।

खेलको सुरुआतदेखि नै बलमाथि पकड बनाएको खेलभर करिव दुई दर्जन आक्रमणको प्रयासहरु सफल गरेको थियो ।

दोस्रो हाफमा पनि अधिकाशं समय माल्दिभ्सलाई दबाबमा राखेको भारतले ५३औं मिनेटमा अग्रतालाई ४-० मा पूर्याएको थियो । भारतकी ग्रेस दाङमेइले टिमका लागि चौथो गोल गरिन् ।

यस्तै, त्यसको दुई मिनेटपछि भारतले आफ्नो अग्रतालाई ५-० मा पूर्यायो । भारतकी कप्तान आशालता देवीले गरेको क्रर्नर प्रहारलाई सौम्या गुगुलोथले गोल गरिन् ।

खेलको ८०औं मिनेटसम्म ५-० को अग्रता बनाएको भारतले बाँकी १० मिनेटमा चार गोल थप्यो ।

८४ मिनेट कस्मिानले भारतको अग्रतालाई ६-० मा पूर्याइन् । त्यसको अर्को मिनेटमा अन्जुले ह्याट्रिक गरेपछि भारत ७-० को अवस्थामा पुग्यो ।

यस्तै, ८६औं मिनेटमा ग्रेस दाङमेइले भारतलाई ८-० को अवस्थामा पूर्याइन् । त्यसको दुई मिनेटपछि अन्जुले व्यक्तिगत चौथो गोल गरेपछि भारतले ९-० फराकिलो जित निश्चित गर्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी अन्जु तामाङ खेलको ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

दुई खेलमध्ये दुवैमा जित निकालेको भारत समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा बंगलादेशले पनि समान खेलबाट समान अंक जोडे पनि भारत गोलआधारमा शीर्ष स्थानमा छ ।

शनिबारै भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६-० को सहज जित निकालेको थियो ।