साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः पहिलो हाफमा भारतलाई अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको पहिलो हाफ भारतले ३-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जारी खेलको २४औं मिनेटमा अन्जु तामाङको गोलबाट भारतले अग्रता बनायो । खेलको ४३औं मिनेटमा प्रियन्गा देवी नाओरेमले भारतको अग्रता दोब्बर पारिन् । कप्तान आशालता देवीको लामो पासलाई नाओरेमले पेनाल्टी क्षेत्रबाट पोष्टको दिशा दिइन् । यस्तै, पहिलो हाफकाे इन्जुरी समयमा अन्जुले भारतका लागि तेस्रो गोल गरिन् ।

खेलको सुरुआतदेखि नै बलमाथि पकड बनाएको भारतले आक्रामक रणनीति बनाए पनि फाइनल थर्डमा चुस्त फिनिसिङ हुन नसक्दा अग्रता बढाउने धेरै सुनौलो मौकाहरु खेल फाल्यो । पहिलो हाफभर अधिकाशं समय फाइनल थर्डमा बल पूर्याएको भारतका करिव एक दर्जन आक्रमणको प्रयासहरु सफल हुन सकेनन् ।

समूह ‘ए’ मा रहेको दुवै टिमको यो दोस्रो खेल हो । भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दा माल्दिभ्स पहिलो खेलमा बंगलादेशसँग ३–० ले नै पराजित भएको थियो ।

शनिबारै भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६–० को सहज जित निकालेको थियो ।