रेनुका नगरकोटी

'रंगशाला छिर्दै गर्दा आँशु आएको थियो'

काठमाडौं । राजधानीमा जारी साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले समूह चरणको खेलमा भुटानमाथि सहज जित निकालेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबारदेखी सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ४-० को नतिजामा पराजित गरेको थियो ।

यो पटक टिममा तीन नयाँ अनुहार अमिसा कार्की, दिपा शाही र समिक्षा घिमिरेलाई समेट्दै साविक उपविजेता नेपालले उपाधिमाथि दाबेदार गर्दै आएको छ ।

चोटका कारण मैदान बाहिर रहेका पुर्व कप्तान रेनुका नगरकोटी र पुजा राना मगर भने यो टिममा छैनन् । भुटानसँगको पहिलो खेल हेर्न रंगशाला पुगेकी मिडफिल्डर रेनुका त्यो समय निकै भावुक भएको बताउँछिन् ।

'रंगशाला छिर्दै गर्दा निकै दु:ख लागेको थियो । आँशु आएको थियो,' उनी भन्छिन्, 'मैदान बाहिर बसेर खेल हेर्न निकै गार्‍हो हुँदो रहेछ ।'

प्रतियोगिताको तयारीका क्रममा घाइते भएकी रेनुका बायाँ घाटिमुनिको हड्डी (ब्युटिबोन) भाचिएको थियो । डिफेन्डर पुजाले पनि प्रशिक्षणको क्रममा बायाँ खुट्टा भाचिएको थियो ।

लामो समय टिमको कप्तानि सम्हालेकी रेनुका टिमकी महत्त्वपूर्ण र अनुभवी खेलाडी थिइन । तर, भुटानसँगको खेलमा डेब्यु गरेका खेलाडीले राम्रो प्रदर्शन गरेको उनले बताइन् ।

'पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा खेल राम्रो भएको थियो । नयाँ खेलाडीले राम्रो खेलेका थिए,' रेनुकाले खेलाडीसँग भनिन्, 'यतिको प्रदर्शनले हामीलाई पुग्दैन । अझ राम्रो गर्नुपर्छ ।'

साफको पहिलो संस्करणबाटै टिममा रहेकी रेनुकाले चोटका कारण पहिको पटक ठूलो प्रतियोगिता गुमाएकी हुन् ।

'कुनैबेलामा बाहिर छु । मैले खेलेको छैन भन्ने बिर्सिदो रहेछु । बाहिर बस्दा खुट्टा आफै अगाडी जान्छ,' उनी हास्दै भन्छिन्, 'म भएको भए खेल नै अर्को हुन्थ्यो भन्दा पनि यो बल वा यो पासलाई चै यसरी सदुपयोग गर्थे भन्ने लागेको थियो ।'

नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार श्रीलंकासँग खेल्दैछ ।

रेनुका अहिले एन्फामा फिजियोथेरापी गराइरहेकी छन् । चोटबाट रिकभरी भइरहेकी रेनुका पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदबाट खेलमा पुनरागमन गर्ने तयारीमा रहेको उनी बताउँछिन्  ।