साफ यु १७ च्याम्पियनसिप

नेपाल सेमिफाइनलमा


काठमाडौ । भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे ।

समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ ।

समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४–० ले हरायो । 

शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ ।

भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।
१२औं मिनेटमा युनिसको गोलमा नेपालले अग्रता लिएको थियो ५७औं मिनेटमा सिमान्तले नेपालको अग्रता अग्रता दोब्बर पारे । ६८औं मिनेटमा दोर्जेले भुटानका लागि गोल गरे पनि त्यो खेलमा फर्कन पर्याप्त भएन ।
नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले स्वभाविक खेल खेल्दा भुटानविरुद्ध सहज जित निस्किएको बताए ।
भारतविरुद्धको हारले भुटान हामीसँग जित्नै पर्ने दबाबमा थियो, उनीहरुको दबाबको हामी फाइदा उठाउन सफल भयौ, श्रेष्ठले भने टोलीले आफ्नो रणनिती अनुसारकै प्रदर्शन गर्यो । यद्धपी टोलीमा केही कमजोरी छ जुन हामी आगामी खेलमा सुधार गर्दै थप उत्कृष्ट प्रदर्शन गर्छौ । म पूर्ण रुपमा भने टोलीको प्रदर्शनमा सन्तुष्ट छैन ।
श्रेष्ठले आफूहरुको लक्ष्य समूह विजेता बन्ने रहेकाले भारतविरुद्ध जितका लागि खेल्ने बताए ।
आजको जितले टोलीको मनोबल बढेको छ । साथै आजको जितले हामीमाथि भारतविरुद्धको खेलमा दबाब हुनेछैन,उनले भने, हामी च्याम्पियन बन्ने लक्ष्यसहित यहाँ आएका हौ । त्यसैले हामी समूह विजेता बन्न चाहन्छौ ।