भारतीय फुटबल

निलम्बनबारे पुनर्विचार गर्न फिफालाई एआइएफएफको आग्रह

नयाँ दिल्ली । अखिल भारतीय फुटबल संघ (एआइएफएफ) का कार्यवाहक महासचिव सुनान्दो धरले भारतको निलम्बनबारे पुनर्विचार गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव फात्मा समौरालाई आग्रह गरेका छन् ।

एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

‘हामी भारतको सर्वोच्च अदालतले संघको मद्दाबारे बनाएको तीन सदस्यीय कमिटि भंग गरेको जानकारी गराउन चाहन्छौं । र, एआइएफएफको दैनिक मामिलाहरुको पूर्ण जिम्मेवारी एआइएफएफमा आएको छ,’ महासचिव धरले लेखेको पत्रमा उल्लेख छ ।

‘हामी फिफा र विशेषगरी ब्युरोलाई एआइएफएफमाथिको निलम्बनबारे पुनर्विचार गर्न आग्रह गर्न चाहन्छौं । निलम्बन फुकुवाका लागि फिफाको सर्तहरुको पूर्ण पालना भएकोले हामी भारतमा फुटबल सुचारु गर्नका लागि चाडो निलम्बन फुकुवाका लागि अनुरोध गर्दछौं ।’

यसअघि फिफाको निलम्बन फुकुवाका लागि भारतीय सर्वोच्च अदालतले यसअघि गठन गरेको तीन सदस्यीय कमिटि भंग गरेको थियो । त्यसअघि सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नभएपछि अदालतले एआइएफएफका अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाउदै संघको कार्यसम्पादनका लागि तीन सदस्यीय कमिटि गठन गरेको थियो ।

तर, फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्ट १६ मा तत्काल लागूहुने गरी एआइएफएफलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।