भारतीय फुटबल

भारतीय फुटबल संघको अध्यक्षमा भुटियासहित पाँच जनाको उम्मेद्वारी

नयाँ दिल्ली । भारतीय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान भाइचुङ भुटियाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा पदमा उम्मेद्वारी दिएका छन् ।

भुटियालाई अध्यक्षका लागि उनका सहकर्मी दीपक मन्डलले प्रस्ताव र मधु कुमारीले समर्थन गरेकी हुन् । मधु पनि पूर्व भारतीय खेलाडी हुन् र उनी एआइएफएफको मतदाता पनि हुन् ।

‘मैले प्रतिष्ठित खेलाडीहरुको प्रतिनिधिको रुपमा आफ्नो नाम दर्ता गराएको हुँ । म हामी खेलाडीहरु पनि राम्रो प्रशासक बन्न सक्छौं भन्ने प्रमाणित गर्न चाहन्छु,’ भुटियाले भने ।

यस्तै, अध्यक्ष पदका लागि भुटियाबाहेक चार जनाले पनि नाम दर्ता गराएका छन् । जसमा फुटबल दिल्लीका अध्यक्ष शाजी प्रभाकरन, पूर्व खेलाडीद्वय युगेन्सन लिंगदोह र कल्याण चौबेसँगै अजीत बनर्जीले पनि छन् । अजित बंगालकी मुख्यमन्त्री ममता बेनर्जी को भाइ हुन् ।

तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाको निलम्बनमा परेपछि एआइएफएफ हाल सकेसम्म चाडो निर्वाचन गर्ने तयारी गरिरहेको छ । फिफाले अगस्ट १६ मा तत्काल लागू हुने गरी एआइएफएफलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।