एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमिति बैठक आजः भागभण्डा र पाँडे मुख्य एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक आज बस्दैछ । यसअघि साउन ५ गते एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको बैठक २० दिनपछि आज एन्फा मुख्यालयमा बस्दै छ ।

असार ६ गते सम्पन्न चुनावी साधारण सभाले पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चुनेपछिको यो दोस्रो बैठक हो ।यसअघि एजेन्डा बिना नै बसेको पहिलो बैठकले गरेका केही निर्णय विवादित बनेका थिए । पहिलो बैठकबाट अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त भएका जर्मन नागरिक नवीन पाँडे बर्खास्तीको विषय आजको बैठकमा प्रमुख विषय रहने छ ।

यसअघि साउन दुई गते अचानक अध्यक्ष बिरामी परेपछि बैठक स्थगित भएको थियो । त्यसको दुई दिनपछि पुनः साउन ५ गते बोलाइएको बैठक एजेन्डामा प्रवेश नै नगरी अध्यक्ष नेम्वाङले स्थगित भएको घोषणा गरेका थिए ।

खड्का पक्षका पदाधिकारी तथा सदस्यहरु आजको बैठकबाट पाँडे अन्तर्राष्ट्रिय विभागको प्रमुखबाट बर्खास्त हुनेमा विश्वस्त छन् ।

एउटै प्यानलबाट प्रतिस्पर्धा गरेर चुनाव जिते पनि नेतृत्वमा पुगेपछि भागबण्डामा कुरा नमिल्दा नेम्वाङ समूह आन्तरिक विवादमा फसेको थियो । पूर्व सहमतिअनुसार महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा पाँडेलाई नियुक्त गरिसकेपछि नेम्वाङले धोका दिएको भन्दै उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका वीरबहादुर खड्का, उपाध्यक्ष भएका विराटजंग शाही र दीपक खतिवडालगायत १० जनाले विरोध जनाएका थिए ।

पूर्व अध्यक्ष गणेश थापा निकट मानिने खड्का नेतृत्वमा १० जनाले चुनावअघिको सहमतिअनुसार सहमहासचिवमा गौरव थापा तथा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्नुपर्ने अडान राखेका थिए । नेम्वाङले त्यसलाई नमानेपछि १९ सदस्यीय एन्फा कार्यसमितिका १२ जनाले नेम्वाङका खास मानिसको रुपमा चिनिने पाँडेलाई बर्खास्त गर्नुपर्ने माग राखेका थिए ।

दोस्रो पटक बैठक एजेन्डामै प्रवेश नगरी स्थगित हुनुको प्रमुख कारण पाँडे नियुक्तीको विषय नै थियो । र, आज पनि यो विषयले बैठकको माहोल तातिने निश्चित छ । १२ जनाले त्यही दिन पाँडेको नियुक्ती विधानविपरित भएको भन्दै बर्खास्गतीको माग राख्दै औपचारिक पत्र बुझाएका थिए । जसमा एन्फा कार्यसमितिका अर्का एक सदस्य रमेश व्यन्जनकार पनि थपिएका छन् ।

खड्का पक्षका पदाधिकारी तथा सदस्यहरु आजको बैठकबाट पाँडे अन्तर्राष्ट्रिय विभागको प्रमुखबाट बर्खास्त हुनेमा विश्वस्त छन् ।

‘यो विषयमा आज छलफल मात्रै होइन, लागू नै हुनेमा हामी विश्वस्त छौं,’ एक पदाधिकारीले भने, ‘शेर्पा प्यानलबाट आएका साथीहरुले पनि पाँडेको बर्खास्तीको विषयमा हामीलाई सघाउने निश्चित छ । त्यसैले जसरी पनि कार्यान्वयन गराएर छाड्छौं ।’

गत असार पहिलो साता सम्पन्न चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानललाई पराजित गरेर नेम्वाङलाई नेतृत्वमा पुर्याउन एक भएका विभिन्न स्वार्थ समूह विभाजित भइसकेका छन् ।

जसका कारण कार्यसमितिमा स्वयम् अध्यक्ष नै अल्पमतमा परेका छन् । चुनावबाट नै सात जना शेर्पा प्यानलका उम्मेदवार चुनिएका थिए । बाँकी १२ जना नेम्वाङ प्यानलबाटै भए पनि पूर्व अध्यक्ष थापा र नरेन्द्र श्रेष्ठका खास मान्छे कार्यसमितिमा छन् । जसका कारण अध्यक्ष नेम्वाङ आफ्नै प्यानलबाट आएका पदाधिकारी÷सदस्यबीचमा पनि अल्पमतमा छन् ।

विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो नै पहिलो पटक हो । हुनत, यसअघिका दुई प्रयास असफल भइसकेका छन् ।

महिला सदस्य पेमा लामाले उठाएका चार एजेन्डा पनि आजको बैठकका लागि एजेन्डामा समावेश भइसकेका छन् । तर यो स्थगित गरिएको बैठक भएकाले नयाँ एजेन्डा थप गर्न नमिल्ने भन्दै पनि आलोचना भइरहेको छ ।

साउन २ गते तय भएको बैठकका लागि एन्फा सचिवालयले १२ एजेन्डा पठाएको थियो । त्यसपछि शेर्पा प्यानलबाट विजयी भएका उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले पाँच एजेन्डा थपेका थिए । साउन ५ गते सुरु भएको बैठकमा त्यसबेलासम्म १७ एजेन्डा थिए ।

तर, एजेन्डामा प्रवेश नै नगरी स्थगित भएर पछाडि धकेलिएको बैठकमा उपाध्यक्ष उपाध्यक्ष दीपक खतिवडाले थपेको एक एजेन्डालाई स्पष्टरुपमा थपिएको जानकारी छैन । तर, महासचिव किरण राईले ‘त्यो विषय पनि एजेन्डाकै रुपमा छलफल हुन्छ’ बताइसकेका छन् ।

यसबाहेक पनि महिला सदस्य पेमा लामाले उठाएका चार एजेन्डा पनि आजको बैठकका लागि एजेन्डामा समावेश भइसकेका छन् । तर यो स्थगित गरिएको बैठक भएकाले नयाँ एजेन्डा थप गर्न नमिल्ने भन्दै पनि आलोचना भइरहेको छ ।

मुलत! आजको बैठक मैदान भित्रको फुटबल भन्दा पनि पद बाँडफाँड र स्वार्थपूर्तिमा केन्द्रित हुने निश्चित छ ।

‘पूर्व अध्यक्ष थापानिकटस्थ समूह भोलिको बैठकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) र प्रवक्ता नियुक्तिको विषय उठाउने योजना थियो । तर, विधानअनुसार विशेष साधारण सभाअघि सिइओको नियुक्ती नहुने रहेछ । त्यही भएर नेपाली फुटबलको विकासमा ठूलो योगदान रहेका पाँचथरका सुरेश शाहलाई प्रवक्ता नियुक्त गर्ने र अरु पनि पुराना सहमतिअनुसार फुटबल अगाडि बढाउने विषयहरुमाथि बैठकमा छलफल हुनेछ ।’