सुपर कप

रियाललाई सुपर कप

मड्रिड । करिम बेन्जेमा र डेविड अलावाको समान एक गोलमा रियाल मड्रिडले आइन्ट्राच्ट फ्रयांकफर्टलाई २-० ले निराश पार्दै सुपर कपको उपाधि जितेको छ ।

३७औं मिनेटमा अलावाको गोलमा रियालले अग्रता लिएको थियो । ६३औं मिनेटमा बेन्जेमाले रियालको अग्रता दोब्बर पारेका थिए । 

रियालका लागि सबै खाले प्रतियोगिता गरि बेन्जेमाले गरेको यो ३ सय २४ गोल हो । यससँगै उनी रियालका लागि सर्वकालिन गोलकर्ताको सुचीको दोस्रो स्थानमा पुगेका छन् । ४ सय ५० गोल गरेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियालका सर्वकालिन गोलकर्ता रहेका छन् ।

यसअघि कासिमिरोले दुई पटक अवसर गुमाउँदा रियाल अग्रता लिनबाट चुकेको थियो ।

रियालले सुपर कपको उपाधि जितेको यो पाँचौ पटक हो ।पछिल्लो पटक रियालले सन् २०१८ मा सुपर कप खेलेका थियो । जहाँ रियाल एट्लेटिको मड्रिडसँग ४-२ ले पराजित भएको थियो ।

गत सिजन बेन्जेमाकै प्रेरणामा रियालले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

रियालले आइतबार अल्मेरियाविरुद्धको खेलसँगै स्पेनिस ला लिगाको उपाधि रक्षाको यात्रा थालनी गर्नेछ ।