जर्मन बुन्डेसलिगा

वेर्नेर पूर्वक्लब लाइपजिग फर्किए

लन्डन । चेल्सीका स्ट्राइकर टिमो वेर्नेर पूर्व क्लब आरबी लाइपजिग फर्किएका छन् । 

वेर्नेर २५ मिलियन पाउन्डमा स्टामफोर्ड ब्रिजबाट जर्मन बुन्डेसलिगाको क्लब लाइपजिग गएका हुन् । स्टामफोर्ड ब्रिजमा उनको दुई वर्षको बसाई सुखद भने रहेन ।

उनी सन् २०२० मा चेल्सीमा अनुबन्ध भएका थिए । उनले इङलिस प्रिमियर लिगको ५६ खेलमा मात्र १० गोल गरेका थिए । 

चेल्सीले शनिबार जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित प्रिमियर लिगको नयाँ सिजनमा सुखद सुरुआत गरेको थियो । जहाँ वेर्नेर अनुपस्थित थिए । उनले लाइपजिगसँग चार वर्षका लागि सम्झौता गरेका हुन् ।

‘आजबाट मैले चेल्सीको बसाईमा पूर्णविराम लगाए’,वेर्नेरले ट्विट गरेका छन्, ‘म मेरो प्रशिक्षक, टोली सहयात्री, कर्मचारी र समर्थकप्रति आभारी छु । स्टामफोर्ड ब्रिजको दुई वर्षको बसाईमा मैले धेरै साथ र सहयोग पाए । यहाँ रहँदा च्याम्पियन्स लिगको उपाधि जित्नु मेरा लागि विशष क्षण थियो ।’

चेल्सी आउनु अघि उनले सन् २०१६ देखी २०२० सम्म लाइपजिगबाट बुन्डेसलिगाको एक सय २७ खेलमा ७८ गोल गरेका थिए । सबै खाले प्रतियोगिता गरि भने वेर्नेरले एक सय ५९ खेलमा ९५ गोल गरेका थिए ।