नेपाली यु २० फुटबल टिम

दक्षिण एसियाली प्रतियोगिताको लागि मिहेनत र लगानी अझै पुगेको छैनः प्रशिक्षक केसी

काठमाडौं । नेपाली राष्ट्रिय यु २० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले दक्षिण एसिलायी प्रतियोगिताको लागि मिहेनत र लगानी अपुग रहेको प्रस्ट्याएका छन् ।

‘हामीले दुई वटा खेल जितेर नेपाली फुटबललाई कमब्याक गर्न कोसिस गरेका थियौ । लामो समयपछि खेलमा ब्याक हुँदा नेपाली फुटबल पछाडि परेको छैन भन्ने कोसिस गरिरहेका थियौ । खेलाडीले धेरै मिहेनत गरेका थिए । हामी सक्षम पनि थियौ,’ उनले भने ।

भारतमा जारी यु २० साफ च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार स्वदेश आइपुगेको छ । प्रतियोगितामा सुखद सुरुआत गरे पनि नेपालले भारतसँग ८-० को फराकिलो नतिजा सुम्पिएपछि र बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालको उपाधि यात्रामा पूर्ण विराम लागेको थियो ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग बोल्दै केसीले भने, ‘भारतसँगको खेलपछि अझै हाम्रो दक्षिण एसियाली स्तरमा मिहनेत र लगानी पुगेको छैन भन्ने महसुस भयो । मेरो फुटबल करियरमा दुई चोटि फुटबलमा किन लागे होला ? भन्ने भयो । एकचोटि जोर्डनसँग ९-० र भारतसँग ८-० को हार बेहोर्दा थियो ।’

राम्रो तयारी बाबजुद भारतले प्रत्येक खेलमा राम्रो रणनीति बनाएका कारण हार्नु परेको उनी बताउँछन् ।

‘यो टिमको स्तर त्यो थिएन । सबैसँग क्षमा प्रार्थी छौ । यो टिमका युवा खेलाडीको क्षमता नेपाली फुटबललाई केही हदसम्म माथि लान किसिमको छ । यो टिमको जस लिन चाहन्न । फुटबलमा सतप्रतिशत लाग्ने मान्छे बाहेक बाँकीलाई थाहा नहुन सक्छ । यस्तो कुराहरु भन्दा एक्सक्युजेज लिन खोजेको जस्तो हुन्छ,’ उनले भने, ‘भारतले खेलेको चार खेलमा सुरुआती ११ हेर्दा नै थाहा हुन्छ । पहिलो खेलमा खेलेको टिम र दोस्रो खेलमा खेलेको टिममा पाँच जना खेलाडी फरक थियो । हामीसँग खेल्दा आठ जना नयाँ खेलाडीहरु थिए । भारतले साफलाई आफ्नो स्तरमा गन्न छाडिसक्यो । सत्य कुरा यहीं हो । किनभने साफ खेल्दा भारतले सही टिम पठाउँदैन । प्राय खेलाडी आइएसएल खेलेका थिए ।’

यस्तै, कप्तान आयुश घलानले भारतसँगको खेलपछि टिम शारीरिक र टेक्निकल पक्षमा कमजोर रहेको महसुस भएको बताए ।

उनी भन्छन्, ‘हामीले जुन लक्ष्य लिएर गएका थियौ त्यो पूरा हुन सकेन । खेलाडीले राम्रो खेलेका थिए । भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो । शारीरिक र टेक्निकल पक्षमा हामी कमजोर रहेछौ जस्तो लाग्यो । खेलाडीहरुमा अनुभवको कमी, कति खेलाडीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।’