राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रिय चर्चा बोकेर फर्केकी निशा

काठमाडौं । तुलसीपुर उपमहानगर- १६ भेलही गाउँकी १७ वर्षीया किशोरी निशा चौधरीको केही दिनअघिसम्म नेपाली खेलकुदमा अपरिचित जस्तै नाम थियो । तर, अहिले निशा नेपाली एथलेटिक्सको उदीयमान खेलाडी बन्ने संघारमा पुगेकी छन् ।

विद्यालयमा निशा तेक्वान्दो खेल्थिन् । करिब ५-६ वर्ष तेक्वान्दोमा नै बिताइन् ।  ब्ल्याकबेल्टसम्म लिइन् । रोजगारीका कारण भारतमा रहेका बुवाकै आग्रहमा उनी तेक्वान्दोमा लागेकी थिइन् । जिल्लास्तरीय प्रतियोगितासमेत खेल्न भ्याइन् ।

तेक्वान्दोको नियमित प्रशिक्षणमा जाँदा हल्का दौडने गर्थिन्, निशा । सायदै निशाले कुनै दिन नेपाली एथलेटिक्समा उदीयमान खेलाडीको रूपमा उदाउने सपना देखेकी होलिन् । तर अहिले निशा नेपाली एथटेटिक्समा प्रचुर सम्भावना बोकेकी खेलाडीको रूपमा उदाएकी छन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा भाग लिन काठमाडौं आएकीनिशा फर्कंदा कीर्तिमानसहित दाङ पुगेकी छन् ।

देशकै मुख्य रंगशालामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी उनले आफूलाई गजबसँग प्रस्तुत गरिन् । दौड र लङजम्पमा आफ्नो सम्भावनालाई प्रचुर देखाएर फर्किइन् ।

दशरथ रंगशालामा उनले १०० मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसँग मिलेर ४ गुणा १ सय मिटर रिले दौड ५४.२० सेकेन्डमा पूरा गर्दै अर्को राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । यसअघि रिलेमा ५४.४० सेकेन्डको कीर्तिमान पश्चिमाञ्चलको नाममा थियो ।

असार २९ गते भने उनको जीवनमा सधैं यादगार रहने दिन बन्यो । निशाले लङजम्पमा ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । जुन प्रदर्शनबाट सिनियरकै कीर्तिमान भंग भएको थियो । शिला चौधरलिे सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो ।

उक्त कीर्तिमान स्थापित गर्दा त्यहाँ उपस्थित साथीहरू, प्रशिक्षक तथा अन्य खेलाडी र प्रशिक्षकबाट निशालाई बधाई र शुभकामनाको ओइरो लाग्यो । सबैले एकपछि अर्को गरेर बधाई दिइरहँदा उनी एकछिन अचम्ममा परिन् । आफ्ना प्रशिक्षकले ‘तिमीले सिनियरतर्फको कीर्तिमान तोड्न सफल भयौं’ भनेपछि मात्र आफूलाई किन बधाई दिइरहेका छन् भन्ने भान भयो उनलाई ।

निशाले आफूले जिल्लास्तरीय प्रतियोगिता खेले पनि त्यहाँ यो स्तरमा सफलता नपाएको बताइन् । 

कीर्तिमान रचेर मैदानबाट बाहिरिँदै गर्दा निशाले आमालाई सम्पर्क गरिन् । आफूले प्राप्त गरेको सफलताको गाथा सुनाइन् । आमाले थप सफलताका लागि शुभकामना दिएकी निशाले बताइन् । उनका बुवा भने रोजगारीका लागि हाल भारतमा छन् ।

‘मैले एथलेटिक्सतर्फ यसअघि जिल्लास्तरीय प्रतियोगिताहरू चाहिँ खेलेको थिएँ,’ निशाले भनिन्, ‘मलाई विद्यालयमा वसन्त ओली गुरु र अहिले पद्मा चौधरी गुरुले प्रशिक्षण दिइरहनुभएको छ । यसपालि म प्रदेश छनोट पार गरेर प्रतियोगिताका लागि छनोट भएकी थिएँ । पहिलो सहभागितालाई अनुभवको रूपमा लिन्छु भन्ने सोचेको थिएँ । तर पहिलो सहभागितामै लङजम्पमा सिनियर कीतिमान तोड्न सफल भएँ । दौडमा जुनियरतर्फ कीर्तिमान बनाएँ । यसले मलाई ठूलो उर्जा मिलेको छ ।’

कीर्तिमान रचेर मैदानबाट बाहिरिँदै गर्दा निशाले आमालाई सम्पर्क गरिन् । आफूले प्राप्त गरेको सफलताको गाथा सुनाइन् । आमाले थप सफलताका लागि शुभकामना दिएकी निशाले बताइन् । उनका बुवा भने रोजगारीका लागि हाल भारतमा छन् ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि नै यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रूपमा लिएको र यसमा उत्कृष्ट ठहरिएका खेलाडीलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउने जनाएको छ ।

‘हामीकहाँ प्रशिक्षणका लागि यहाँ जस्तो सुविधासम्पन्न ट्याक छैन,’ निशाले भनिन्, ‘प्रतियोगिता सकिएपछि निरन्तर प्रशिक्षणको व्यवस्था हुन्छ भन्ने सुनेको छु । हाम्रोमा प्रतियोगिता हुँदा मात्र अभ्यास गर्ने चलन छ । निरन्तर प्रशिक्षणको अवसर मिलेको खण्डमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालका लागि सफलता दिलाउन सक्छु भन्ने आशा छ ।’

एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ निशा सम्भावना बोकेकी खेलाडी भएकाले उनको आगमन नेपाली एथलेटिक्सका लागि सुखद संकेत भएको बताउँछन् ।

‘हाम्रोमा नयाँ खेलाडीको आगमन निकै पातलो छ,’ प्रशिक्षक गुरुङले भने, ‘आएका खेलाडीहरू पनि नियमित प्रशिक्षण नहुँदा टिक्दैनन् । यसपालि हामी अलि बढी आशावादी छौं ।’

राखेपका सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्ड ट्यालेन्ट हन्टको रूपमा लिँदै यसबाट छानिएका उत्कृष्ट खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था गर्ने बताएका छन् । त्यसले गर्दा खेलाडीको नियमित प्रशिक्षण हुने विषयले गर्दा आफूहरू उत्साही रहेको प्रशिक्षक गुरुङले बताए । उनले भने, ‘निशा नेपाली एथलेटिक्समा उदीयमान खेलाडीको रूपमा देखा परेकी छन् । हामीले उनलाई प्रशिक्षणमा बोलाइसकेका छौं ।’