डुवाना लामा

जलपरी डुवानाको लक्ष्य ‘ओलम्पिक’

डुवाना लामा उमेरले भर्खरै १६ लागिन् । कलिलो उमेरमै देश/विदेशमा चर्चा बटुलेकी डुवाना पौडी खेलाडी हुन् । नेपाली बुवा र आयरल्यान्डकी आमाबाट जन्मिएकी डुवानाको लक्ष्य भने ठूलो छ । नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता खेलिसकेकी उनी यतिबेला जन्मभूमि नेपालमै छिन् ।

नेपाल पौडी संघद्वारा गत महिना आयोजित १०औं एनएसए कप पौडी च्याम्पियनसिप खेल्न डुवाना नेपाल आएकी थिइन् । अहिले उनी पेरुमा हुने विश्व युथ पौडी च्याम्पियनसिपको तयारीमा व्यस्त छिन् । त्यसका लागि उनले प्रशिक्षक वाङ्देन लामाबाट दैनिक प्रशिक्षण लिइरहेकी छन् ।

डुवानाको पौडी यात्रा २०६४ सालबाट सुरु भएको हो । जतिबेला उनी बुवाको सहारामा पौडी पोखरीमा प्रवेश गरेकी थिइन् । टाउकोको स्विमिङ क्याप र चश्मासमेत लगाउन नजान्ने स्थितिमा बुवा मुखिया लामाले डुवानालाई पौडी पोखरीमा पुर्याएका थिए ।

खासमा डुवाना फुटबल, जुडो, तेक्वान्दो खेल्न मन पराउँथिन् । तर बुवाआमाको रुचि छोरी पौडी खेलाडी होस् भन्ने थियो । त्यही कारण उनी दैनिक स्विमिङ खेल्न जान थालिन् । करबलमा खेल्न थालेको स्विमिङलाई समय दिँदादिँदै अरू खेलमा उनको ध्यान जान पाएन । स्विमिङमै पारंगत बन्न थालिन्।

‘सानोमा मलाई स्विमिङ खेल्न मन थिएन । तर बुवाआमाका कारण स्विमिङ खेलाडी भएर निस्किएँ,’ सातदोबाटोस्थित पौडीपोखरीमा भेटिँदा डुवानाले नेपाली लवजमा पुराना क्षण स्मरण गराइन् ।

खासमा डुवाना फुटबल, जुडो, तेक्वान्दो खेल्न मन पराउँथिन् । तर बुवाआमाको रुचि छोरी पौडी खेलाडी होस् भन्ने थियो । त्यही कारण उनी दैनिक स्विमिङ खेल्न जान थालिन् । करबलमा खेल्न थालेको स्विमिङलाई समय दिँदादिँदै अरू खेलमा उनको ध्यान जान पाएन । स्विमिङमै पारंगत बन्न थालिन् ।

‘पहिला स्विमिङभन्दा फुटबल, जुडो, तेक्वान्दो खेल्थें । तर, स्विमिङले गर्दा अरूलाई निरन्तरता दिन सकिनँ । अहिले त स्विमिङ नै सबै हो जस्तो लाग्छ । यसैमा इनर्जी आउँछ,’ मन्द मुस्कानसहित डुवाना सुनाउँछिन् ।

सात वर्षकै उमेरमा पौडी सुरु गरेकी डुवाना १२ वर्षको उमेरमा नेपाल छाडेर थाइल्यान्ड पुगिन् । जहाँ उनले शैक्षिक यात्रासहित पौडीमा पनि पर्याप्त ध्यान दिइन् । अहिले उनी उच्च शिक्षा र खेललाई प्राथमिकतामा राखेर थाइल्यान्डमै अध्ययन गरिरहेकी छन् । घरेलु प्रतियोगिता र देशका लागि खेल्नुपर्दा मात्रै उनी नेपाल आउँछिन् ।

नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट डुवानाले सिनियर प्रतियोगिता खेल्न थालेकी हुन् । डुवानाले नेपालमै आयोतिज १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्दै पौडीमा आफ्नो अन्तर्राष्ट्रिय सम्भावना उजागर गरेकी थिइन् ।


डुवानाले फ्रिस्टाइल (५०, १००, २००, ४००), बटरफ्लाई (५० र २०० मिटर), व्यक्तिगत मिड्ले (२००), मिड्ले रिले (१००) र ब्रेस्टस्ट्रोक (५०, १००, २०० मिटर) विधामा प्रतिस्पर्धा गर्दै आएकी छन् । ब्रेस्टस्ट्रोक आफ्नो मुख्य विधा मान्ने उनी व्यक्तिगत विधामा देशका लागि थुप्रै पदक जित्न लालयित छन् ।

‘सुरुमा बटरफ्लाई राम्रो लाग्थ्यो । अहिले त २०० मिटर बेस्टस्ट्रोक सबैभन्दा राम्रो र सहज लाग्छ,’ १३औं सागमा नेपाललाई रजत र कांस्य पदक जिताएकी डुवानाले भनिन् ।

कलिलो उमेरमै पाएको सफलतालाई कायम राख्दै डुवानाले एसियाली खेलकुद, विश्व पौडी च्याम्पियनसिप र ओलम्पिकमा नेपाललाई पदक जिताउने लक्ष्य बनाएकी छन् । त्यसका लागि उनी प्रशिक्षणमा दैनिक व्यस्त हुन्छिन् ।

उमेर समूहमा सिंगापुर नेसन्स च्याम्पियनसिप, एसियन एज ग्रुप च्याम्पियनसिप, १९औं फिना विश्व च्याम्पियनसिप बुडापेस्ट २०२२ मा देशको प्रतिनिधित्व गरेकी डुवानाले सिनियर टोलीमा रहेर हङकङ ओपन स्विमिङ च्याम्पियनसिप २०१८, सिंगापुर नेसनल च्याम्पियनसिप, आठौं राष्ट्रिय खेलकुद, १३औं साग, फिना विश्व च्याम्पियनसिप २०१८ मा प्रतिस्पर्धा गरेकी थिइन् ।  

कलिलो उमेरमै पाएको सफलतालाई  कायम राख्दै डुवानाले एसियाली खेलकुद, विश्व पौडी च्याम्पियनसिप र ओलम्पिकमा नेपाललाई पदक जिताउने लक्ष्य बनाएकी छन् । त्यसका लागि उनी प्रशिक्षणमा दैनिक व्यस्त हुन्छिन् ।

‘नेसनल गेम्सपछि सागमा समेत उपाधि जितेको छु । अब एसियन गेम्स, विश्व च्याम्पियनसिप र ओलम्पिक खेलेर पदक जित्ने योजना छ । त्यसैका लागि कडाभन्दा कडा मिहिनेत गर्नेछु,’ डुवाना आफ्नो लक्ष्य सुनाउँछिन् ।  

हाल डुवानालाई प्रशिक्षण गराइरहेका प्रशिक्षक वाङ्देन लामा एक स्विमरमा हुनुपर्ने प्रचुर सम्भावना डुवानामा भएका कारण उसको भविष्य राम्रो भएको बताउँछन् ।

‘सानैदेखि डुवाना प्रतिभावान खेलाडी हो । उनको स्विमिङमा भविष्य छ । खेलप्रति गम्भीर हुन्छिन् । अझै धेरै प्रगति गर्न सक्छे । उनमा मिहिनेत र लगाव छ । उसलाई राम्रो पक्ष भनेको परिवारको सहयोग छ,’ एसियन च्याम्पियनसिप र विश्व च्याम्पियनसिप खेलेर २०५० सालयता राखेप प्रशिक्षक रहेका लामा सुनाउँछन् ।


डुवानाको सबैभन्दा मिल्ने साथी गौरिका सिंह हुन् । गौरिकाले सागमा चार स्वर्ण पदक जितेकी थिइन् । रजत र कांस्य पनि उनको गला थियो । रिलेमा उनीहरूले मिलेर नेपाललाई पदक दिलाएका हुन् ।

नेपालमा पौडीको चर्चा जब आउँछ तब नाम आउँछ गौरिका । त्यसपछि डुवानाको । गौरिकालाई पछ्याइरहेकी डुवाना एकदिन गौरिकाजस्तै पदक हासिल गर्नेमा आशावादी छिन् ।

‘दिदी (गौरिका)ले पहिलैदेखि खेल्नुहुन्थ्यो । दिदीले पदक जितेको देख्दा खुसी लाग्थ्यो । मैले आफूले पनि त्यस्तै मिहिनेत गर्नुपर्छ भन्ने लागिरहन्छ । एकदिन त्यस्तै सफलता हासिल हुन्छ भन्ने विश्वास छ,’ डुवाना आशावादी हुन्छिन् ।  

डुवानाले १३औं सागमा दुई रजत र तीन कांस्य पदक जितेकी थिइन् । उनले २ सय मिटर बे्रस्टस्ट्रोक र बटरफ्लाईमा रजत जितेकी थिइन् । गौरिका, डुवाना, टिसा शाक्य र अनुसिया तण्डुकारले नेपाललाई फ्रिस्टाइल र मिड्ले रिलेमा कांस्य पदक जिताएका थिए । उनले ४ गुणा १०० मिटर फ्रिस्टाइल, ४ गुणा १०० मिटर फ्रिस्टाइल र ४ गुणा १०० मिटर मिड्लेको रिलेमा कांस्य जितेकी हुन् ।

उनले दुई वर्षअघि भएको आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ५ रजत पदक जितेकी थिइन् ।

यी त भए पदकका कुरा । यही खेलमा डुवानाले राष्ट्रिय कीर्तिमान राखेकी छन् । डुवानाले सन् २००६ मा कोलम्बो सागमा विविधा रिमालले राखेको ३ मिनेट १२.८५ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । डुवानाले बनाएका यस्ता निकै कीर्तिमान छन् । जुन लामो तालिका बन्न जान्छ ।

यता, आइरिस आमा मेरी र बुवा मुखियाले समेत छोरीबाट ठूलै आशा राखेका छन् । छोरीको पौडीमा क्षमता देखेकै कारण आफूले लगानी गरेको मुखिया सुनाउँछन् ।

‘छोरी मिहिनेती छे । क्षमतावान पाएको छु । जागरुक छे । देशका लागि केही गर्छु भन्ने भावना छ । त्यही भएर लगानी गरेर थाइल्यान्डमै उच्च शिक्षासहित पौडी प्रशिक्षणमा राखेका हौं । खर्च त बढी नै लाग्छ । तर छोरीले ओलम्पिक खेल्छु भनेर लक्ष्य बनाएकी छिन् । हामी त्यही लक्ष्य पूरा गर्न लागिपरेका छौं,’ डुवानाका बुवा मुखिया लामा सुनाउँछन् । उनी छोरीप्रति गरेको लगानी खेर नजाउनेमा विश्वस्त पनि छन् । भन्छन्, ‘छोरीले देशका लागि केही गर्छ भन्ने विश्वास छ । आशावादी पनि छौं ।’