डी ब्रुयना पिएफए वर्ष खेलाडी घोषित 

लन्डन, (खेलाडी)- म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो पटक ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ दी इयर’ घोषित भएका छन् । 

सिटीकै फिल फोडानले उत्कृष्‍ट युवा खेलाडीको अवार्ड जिते । दुवै खेलाडीले सिटीलाई चार वर्षमा तेस्रो पटक प्रिमियर लिग र काराबाओ कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

२९ वर्षे डी ब्रुयना लगातार दोस्रो पटक यो अवार्ड जित्‍ने दोस्रो खेलाडी बनेका छन् । यसअघि क्रिष्‍टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट लगातार दुई पटक अवार्ड जितेका थिए । 

‘सबैको चाहना हुन्छ टिमबाट धेरै भन्दा धेरै उपाधि जितौं र त्यो चाहना व्यक्तिगत उपलब्धिका लागि पनि उस्तै हुन्छ,’ बेल्जियमका डी ब्रुयनाले भने । 

वितेको सिजनमा डी ब्रुयनाले प्रिमियर लिगमा ६ गोल गरेका थिए भने १२ गोलमा अवसर सिर्जना गरिदिएका थिए । 

फोडानलाई उत्कृष्‍ट युवा खेलाडीको अवार्ड

सिटीका मिडफिल्डर फिल फोडान ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन अवार्ड उत्कृष्‍ट युवा खेलाडी घोषित भएका छन् । २१ वर्षे फोडानले सिटीबाट गत सिजन ५० खेलमा १६ गोल गरेका थिए । फोडानले गत सेप्‍टेम्बरमा इङ्ल्यान्डको सिनियर टिमबाट डेब्यू गरेका थिए ।

‘यस वर्ष धेरै प्रतिभावान युवा खेलाडीहरु थिए । त्यस्तो अवस्थामा मैले यो अवार्ड पाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ फोडानले भने, ‘यसअघि महान खेलाडीहरुले यो अवार्ड जितिसकेका छन् । यसपटक मैले जितेकोमा धेरै खुशी छु । मेरा लागि यो विशेष क्षण हो ।’ 

महिलातर्फ पनि सिटीकै विंगर लाउरेन हेम्पले उत्कृष्‍टमहिला युवा खेलाडीको अवार्ड जितिन् । उनले लगातार दोस्रो पटक यो अवार्ड जितेकी हुन् । २० वर्षिया हेम्पले यसअघि २०१८ मा पनि ब्रिस्टल सिटीबाट यो अवार्ड जितेकी थिइन् ।