अभ्यास खेलमा इङ्ल्यान्ड विजयी

लन्डन, (खेलाडी)औ मार्कुस रशफोर्डको गोलमा इङ्ल्यान्डले गएराति अन्तर्राष्‍ट्रिय मैत्रीपूर्ण खेलमा रोमानियालाई १-० ले हराउँदै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारी पूरा गरेको छ । 

म्यानचेस्टर युनाइटेडका फरवार्ड रशफोर्डले ६८औं मिनेटमा पेनाल्टीमा हानेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बनेको थियो । इङ्ल्यान्डका जोर्डन हेन्डरसन भने ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुके । 

इङ्ल्यान्ड यसअघि युरो २०२० को तयारीमा खेलेको अर्को मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई पनि १-० ले हराएको थियो । इङ्ल्यान्ड समूह ‘डी’ मा छ । समूह ‘डी’मा  इङ्ल्यान्डले १३ जुनमा क्रोएसिया, १८ जुनमा स्कटल्यान्ड र २२ जुनमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ ।