लुकाकुको गोलमा बेल्जियमको जित

ब्रसेल्स, (खेलाडी)- इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुको गोलमा बेल्जियमले गएराति अन्तर्राष्‍ट्रिय मैत्रीपूर्ण खेलमा क्रोएसियालाई १-० को नतिजामा पराजित गर्दै युरो २०२० को तयारी पूरा गरेको छ । 

लुकाकुले ३८औं मिनेटमा गरेको गोल बेल्जियमको जितमा निर्णायक बन्यो । 

फिफा वरियाताको शीर्ष स्थानमा रहेको बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ ।  समूह ‘बी’ मा रहेको बेल्जियमले १७ जुनमा डेनमार्क र २१ जुनमा फिनल्यान्डसँग खेल्नेछ । 


बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथहवाइटले गरेको गोलमा डेनमार्कले बोस्‍निया-हर्जगोभिनालाई १-० ले हरायो । आठ हजार दर्शकमाझ ब्रेथहवाइटले १८औं मिनेटमा गरेको गोल डेनमार्कका लागि निर्णायक बन्यो । 

डेनमार्कले अब १२ जुनमा फिनल्यान्डविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ । समूह ‘बी’ मा डेनमार्कले फिनल्यान्डसँगै रुस र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।