साफ यु २० च्याम्पियसिप

साविकको विजेता भारत पहिलो खेलमै स्तब्ध

काठमाडौं । साविकको विजेता भारतलाई २-१ ले स्तब्ध पार्दै बंगलादेशले साफ यु २० च्याम्पियसिपमा जित यात्रालाई दोस्रो खेल सम्म कायम राखेको छ । 

भारतको भुवनेश्वरस्थित कलिंगा रंगशालमा सम्पन्न बुधबारको पहिलो खेलमा घरेलु टोली भारतलाई हराएसँगै बंगलदेशले आफूलाई उपाधि दाबेदार टोलीको रुपमा उभ्याएको छ । 

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो । शीर्ष स्थानमा उक्लिएको बंंगलादेशको दुई खेलमा ६ अंक छ भने दोस्रो स्थानको नेपालको एक खेलमा तीन अंक छ । श्रीलंका, माल्दिभ्स र भारतले अंक खाता खोलेका छैनन् ।

२९औं मिनेटमा मोहम्मद नोभाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै भारत खेलमा फर्कियो । गुर्किरात सिंहको गोलमा भारत खेलमा फर्किएको थियो । 

पहिलो हाफको इन्जुरी समयमा मोहम्मदले पेनाल्टीको सदुपयोग गर्दै बंगलादेशलाई पुनः अग्रता दिलाएका थिए ।

बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ७ः १५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो ।