इटालियन सिरी ए

शीर्ष गोलकर्तासहित सिरी 'ए' को उपाधि जित्ने भ्लाहोभिचको चाहाना

रोम । डुसान भ्लाहोभिचले यस सिजन इटालियन सिरी ‘ए’ को उपाधि जित्नेमा आशाबादी रहेको बताएका छन् । 

उनी गत जनवरीमा फियोरेन्टिनाबाट युभेन्टस आएका थिए । साथै उनले  नयाँ सिजन सिरी ‘ए’ मा गोल लय पनि कायम राख्ने बताएका छन् । फियोरेन्टिनामा गोलको लयमा रहेका भ्लाहोभिचले युभेन्टस आएपछि भने सो लय कायम राख्न सकेनन् । 

ज्लाटान इब्रामोभिचले १३ वर्षअघि जोजे माउरिन्होको प्रशिक्षणमा इन्टर मिलानबाट सिरी ए को उपाधि जित्दा २५ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए । त्यसयता लिग विजेता टोलीका कुनै पनि खेलाडी सर्वाधिक गोलकर्ता बन्न सकेका छैनन । 

गत सिजन उनले सिरी ए मा कुल २४ गोल गरे । जसमध्ये जनवरी सरुवा बजार अघि फियोरेन्टिनाबाट १७ गोल गरेका थिए । उनले युभेन्टसबाट भने सात गोल गरेका थिए ।। 

सन् २०१८ सेप्टेम्बरमा सिरी ए मा डेब्यु गरेदेखि उनले सबै प्रतियोगितामा गरेर एक सय १३ खेलमा ५१ गोल गरेका थिए । 

‘पछिल्लो १२ वर्षमा सिरी ए को उपाधि विजेता टोलीका खेलाडीले सर्वाधिक गोलकर्ता बन्न सकेका छैनन, भ्लाहोभिचले भने, म सो उपब्धी हासिल गर्न चाहन्छु । त्यसैले यस सिजन युभेन्टसलाई सिरी ए को उपाधि जिताउनुका साथै म ३० गोलसहित सर्वाधिक गोलकर्ता बन्न चाहन्छु ।