श्रीलंका–पाकिस्तान दोस्रो टेस्ट

पाकिस्तानलाई श्रीलंकाको कीर्तिमानी लक्ष्य

गाले । धनञ्जय डी सिल्भाको सतकप्रेरित श्रीलंकाले दोस्रो टेस्टमा जितका लागि पाकिस्तानसामु पाँच सय आठ रनको कीर्तिमानी लक्ष्य पस्तुत गरेको छ । 

चोथो दिनको खेल जारी रहँदा श्रीलंकाले ३६०-८ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा श्रीलंकाले तीन सय ७८ रनको योगफल तयार पार्दा पाकिस्तान भने दुई सय ३१ रनमा सीमित भएको थियो । पहिलो इनिङमा एक सय ४७ रनको अग्रता लिएको श्रीलंकाले दोस्रो इनिङमा थप तीन सय ६० रन जोडेपछि पाकिस्तानले पाँच सय आठ रनको कीर्तिमानी लक्ष्य पाएको हो ।

यसअघि टेस्ट क्रिकेटमा सन् २००३ मा वेस्ट इन्डिजले अस्ट्रेलियाले प्रस्तुत गरेको चार सय १८ रनको लक्ष्य पूरा गरेको थियो ।

डी सिल्भाले एक सय ७१ बलमा १६ चौका मद्दतमा एक सय नौ रन जोडे । त्यस्तै रमेश मेन्डिसले ४५ र कप्तान दिमुथ करुणारत्नेले ६१ रन जोडे ।

पाकिस्तानका नसिम शाह र मोहम्मद नवाजले समान दुई तथा यासिर शाह,नुमान अली र आगा सलमानले समान एक विकेट लिए ।

पहिलो टेस्ट चार विकेटले जित्दै पाकिस्तानले दुई टेस्टको शृंखलामा १-० को अग्रता लिएको थियो ।