यु २० साफ च्याम्पियनसिप

यु २० साफ: माल्दिभ्समाथि नेपालको सानदार जित

काठमाडौं । भारतको भुवनेश्वरमा आज (सोमबार) देखि सुरु भएको यु २० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४-० को सानदार जित निकालेको छ ।

भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा तुलनात्मक रुपमा बलमाथि बलियो पकड बनाएको नेपालले दीपेश गुरुङले ४२औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । दीपेशले माल्दिभ्सका गोलकिपरबाट आएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट गोल गरेका थिए ।

यस्तै ५८औं मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिस रन्त छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई राइट साइडबाट अघि बढाउँदै १८ बक्सभित्रबाट गोल गरेका थिए ।

६२औं मिनेटमा नेपालका कप्तान आयुस घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस रत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३-० मा पूर्याए । 

यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४-० को जित निश्चित गर्यो । यसबाहेक नेपालले गोलका थुप्रै मौका बनाएको थियो ।

मुख्य प्रशिक्षक मेघराज केसीको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिम आयुशको कप्तानीमा खेलिरहेको छ ।

सुरुआती दुई संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट दुईमा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।