यु २० साफ च्याम्पियनसिप

यु २० साफः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौं । भारतको भुवनेश्वरमा आज (सोमबार) देखि सुरु भएको यु २० साफ च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

भवुनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफमा तुलनात्मक रुपमा बलमाथि पकड बनाएको नेपालले दीपेश गुरुङले गरेको गोलबाट खेलको ४२औं मिनेटमा अग्रता लिएको हो । दीपेशले माल्दिभ्सका गोलकिपरबाट आएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट गोल गरेका हुन् ।

मुख्य प्रशिक्षक मेघराज केसीको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिम आयुशको कप्तानीमा खेलिरहेको छ ।

सुरुआती दुई संंस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट दुई मा खेल्ने तालिका छ ।  राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।